कैलालीका दुई गाविस खुला दिसामुक्त

धनगढी, १३ चैत । कैलालीमा पहिलोपटक दुई गाउँ विकास समितिलाई खुला दिसामुक्त गाविस घोषणा गरिएको छ । सोमबार कोटातुल्सीपुर र पवेरा गाविसमा कार्यक्रम गरेर खुला दिसामुक्त गाविस घोषणा गरिएको हो ।

यी गाविसका प्राय: घरपरिवारले शौचालय बनाएपछि गाविसलाई जिल्लामै पहिलोपटक खुला दिसामुक्त गाविस घोषणा गरिएको जिल्ला विकास समिति कैलालीले जनाएको छ ।
पवेरामा एक हजार ३५ र कोटातुल्सीपुरमा एक हजार नौ सय १९ घरधुरी छन् । ४२ गाविस र दुई नगरपालिका रहेको कैलालीलाई सन् २०१६ भित्र खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहेको जिल्ला विकास समिति कैलालीका योजना अधिकृत योगेन्द्रबहादुर ओझाले बताए ।
अधिकांश घरपरिवारले आफ्नै लगानीमा शौचालय बनाएका थिए भने आर्थिक अवस्था कमजोर भएका केही घरपरिवारलाई विभिन्न संघसंस्थाले सहयोग गरेको पवेरा गाविस सचिव बलराम चौधरीले बताए ।
यी दुई गाविसलाई खुला दिसामुक्त बनाउन जिल्ला विकास समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र सरसफाइ, खानेपानी तथा आर्सेनिक न्यूनीकरणका लागि काम गर्ने विभिन्न संघसंस्थाको सहयोग गरेको बताइएको छ ।
नेपाल सरकारले सन् २०१७ भित्र खुला दिसा–पिसाबमुक्त घोषणा गर्ने लक्ष्यअनुरूप पछिल्लो चरणमा जिल्लाका विभिन्न ठाउँमा शौचालय बनाउने र सरसफाइसम्बन्धी जनचेतना दिने खालका कार्यक्रम अभियानका रूपमा थालिएको योजना अधिकृत ओझाको भनाइ छ । सोमबार खुला दिसामुक्त घोषणा गरिएको पवेरा र कोटातुल्सीपुरमा स्थानीयले गाविसमा हात–हातमा ब्यानर लिएर बाजागाजासहित गाउँ परिक्रमा गरेका थिए ।
कैलालीमा एक लाख ४२ हजार ४ सय ८० घरधुरी छन् । यसमध्ये आधाले मात्र शौचालय प्रयोग गर्ने गरेको जिल्ला विकास समितिको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया