सुदूरपश्चिममा ४५ क्षयरोगीको मृत्यु

धनगढी, १२ चैत । सुदूरपश्चिममा अन्य विकास क्षेत्रको तुलनामा क्षयरोगको स्थिति भयावह देखिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीले आइतबार धनगढीमा सार्वजनिक गरेको तथ्यांकमा यस्तो पाइएको हो ।

आर्थिक वर्ष ०६८/०६९ मा एक सय २६ को क्षयरोगका कारण मृत्यु भएको यो क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ४५ क्षयरोगीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १४ प्रतिशतमा एचआइभी र एड्सको संक्रमण पनि रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीका क्षयकुष्ठ अधिकृत दयाकृष्ण पन्तले बताए ।
‘अन्य क्षेत्रको तुलनामा यसक्षेत्रमा गरिबीको संख्या बढी हुनु र स्वास्थ्य संस्था सबै पहुँचमा नहुनुले क्षयरोगीको संख्या अन्य क्षेत्रको तुलनामा यो क्षेत्रमा बढी भएको हो,’ पन्तले भने, ‘नौ जिल्ला रहेको सुदूरपश्चिममा जनसंख्याका आधारमा सबैभन्दा बढी अछाममा क्षयरोगको संक्रमण उच्च छ ।’
गत आर्थिक वर्षमा ४ हजार २ सय ६५ क्षयरोगी रहेको स्वास्थ्य निर्देशनालयको अनुमान रहेकोमा तीन हजार ३ सय ११ को मात्र पहिचान भएको निर्देशक डा. विकास लामिछानेले बताए । उनका अनुसार अछाममा दुई सय ८, बैतडीमा दुई सय ३१, बझाङमा एक सय ४९, बाजुरामा ८४, डडेल्धुरामा एक सय ५२, दार्चुलामा एक सय ४७, डोटीमा दुई सय ४, कैलालीमा एक हजार २ सय २ र कञ्चनपुरमा नौ सय ३३ क्षयरोगी थिए ।
उनीहरूमध्ये दुई हजार ९ सय ७८ उपचारपछि निको भए पनि एक सय २६ लाई जटिल संक्रमण भइसकेकाले उपचारका क्रममा मृत्यु भएको लामिछानेले बताए । मृत्यु हुनेमा अछाममा १४, बैतडीमा ६, बझाङमा २, बाजुरामा २, डडेल्धुरामा ८, दार्चुलामा ३, डोटीमा २२, कैलालीमा ४९ र कञ्चनपुरमा २० छन् ।
क्षयरोगको उपचार तथा त्यसमा प्रयोग हुने औषधि सरकारले नि:शुल्क उपलब्ध गराउने भए पनि क्षयरोगीका बिरामी समयमै स्वास्थ्य संस्थामा उपचारका लागि नआउने तथा क्षयरोग लागे/नलागेको भन्ने चेकजाँच गर्ने विशेषज्ञ स्वास्थ्यकर्मी र उपकरणको अभावले बर्सेनि क्षयरोगीको संख्या बढ्दै गएको क्षयकुष्ठ अधिकृत पन्तको भनाइ छ ।
पन्तका अनुसार यस आर्थिक वर्षमा पनि सुदूरपश्चिममा चार हजार २ सय ६५ क्षयरोगी हुनसक्ने निर्देशनालयको अनुमान छ । पहिलो चौमासिकमा अछाममा ८१, बैतडीमा ८१, बझाङमा ५७, बाजुरामा ४६, डडेल्धुरामा ५२, दार्चुलामा ६४, डोटीमा ४३, कैलालीमा ५ सय ७९ र कञ्चनपुरमा २ सय ९१ गरी एक हजार दुई सय ९४ जनाको नाम दर्ता भएकोमा त्यसमध्ये ४५ को मृत्यु भएको र बाँकीको उपचार भइरहेको छ ।
‘सेती अञ्चल अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर र टिम अस्पताल डडेल्धुरामा एमडिआर टिबीको उपचारको व्यवस्था रहेको र यी केन्द्रमा क्रमश: ५१, ११ र २ गरी ६४ को उपचार भइरहेको छ,’ पन्तले भने, ‘एक्सडिआर टिबीअन्तर्गत ४ को उपचार भइरहेको छ ।’
क्षयरोगको संक्रमण भएकालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा डट्स विधिमार्फत नि:शुल्क उपचार गर्ने राज्यको प्रावधान छ । तर, राज्यले क्षयरोगसम्बन्धी आवश्यक जनशक्ति उपलब्ध गराउन नसक्दा क्षयरोग सुदूरपश्चिममा चुनौतीका रूपमा रहेको अधिकृत पन्तले बताए ।
गुल्मीमा तीन सय क्षयरोगी
गुल्मी : जिल्लाभर २ सय ८९ क्षयरोगी रहेको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले सार्वजनिक गरेको छ । जनस्वास्थ्य अधिकृत कृष्ण पन्थीका अनुसार १ सय ४३ मा सरुवा र १ सय ४६ मा नसर्ने क्षयरोगको संक्रमण भेटिएको छ ।
उनका अनुसार नसर्ने क्षयरोग ९१ प्रतिशत र सर्ने ९४ दशमलव ४ प्रतिशत छ । यसको संक्रमणबाट मर्नेको संख्या २ प्रतिशत छ । अधिकांश बिरामीमा फोक्सोको क्षयरोगी रहेको पाइएको छ ।
सरकारले क्षयरोगको उपचारका लागि सन् १९९६ मा नि:शुल्क रूपमा डट्स विधि सुरु गरेर सन् २००१ देखि देशका सबै जिल्लामा यो सेवा विस्तार गरेको छ । तैपनि, नियमित रूपमा औषधि सेवन गर्न डट्स क्लिनिकसम्म जान बिरामीले झन्झट मान्ने गरेका कारण औषधि नियमित प्रयोग नगर्ने बिरामीमा पुन: संक्रमणमा परेका हुन् ।
सन् १८८२ मा जर्मनका वैज्ञानिक डा. रबर्ट ककले पहिलोपटक क्षयरोगको कीटाणु पत्ता लगाएका थिए । उनकै सम्झनामा क्षयरोगको कीटाणु पत्ता लागेको दिन २४ मार्चलाई हरेक वर्ष विश्वभर क्षयरोग दिवस मनाउन सुरु गरिएको हो । (सौस)

प्रतिक्रिया