रकम निकासा भए पनि छात्रवृत्ति बाँडिएन

काठमाडौं, १२ चैत । छात्रवृत्ति रकम निकासा भए पनि वाल्मीकि क्याम्पसका विद्यार्थीले पाउन सकेका छैनन् । नेपाल संस्कृत विश्वविद्यालयले छात्रवृत्ति रकम पठाए पनि वाल्मीकिमा अध्ययनरत २ सय ७८ विद्यार्थीले नपाएका हुन् । परीक्षाअगावै वितरण गर्नुपर्ने २५ लाख रुपियाँ क्याम्पस प्रशासनले अझै विद्यार्थीलाई दिएको छैन ।

आचार्य तहमा अध्ययनरत सुरज पौडेल परीक्षा सकिए पनि छात्रवृत्तिबापतको रकम नपाएको बताउँछन् । क्याम्पस प्रशासनको लापरबाहीका कारण आफूहरूले छात्रवृत्ति रकम नपाएको पौडेलको कथन छ । छात्रवृत्तिका लागि परीक्षा लिए पनि क्याम्पसले अहिलेसम्म रिजल्ट प्रकाशन नगर्दा विद्यार्थीले त्यसबापतको रकम पाउन नसकेका हुन् ।
विद्यार्थी संगठनले क्याम्पस प्रमुख र स्ववियु सभापतिले छात्रवृत्तिमा निकटका व्यक्ति पार्न परीक्षाफल प्रकाशन नगरेको आरोप लगाएका छन् । विद्यार्थी संगठन र स्ववियुले पटक–पटक आग्रह गर्दा पनि क्याम्पस प्रशासनले अझै छात्रवृत्तिको परीक्षाफल निकालेको छैन ।
नेपाल विद्यार्थी संघका इकाइ अध्यक्ष शिव पौडेलले क्याम्पसमा छात्रवृत्ति रकम आए पनि क्याम्पस प्रमुख र स्ववियु सभापतिको मिलेमतोमा रोकिएको आरोप लगाए । ‘रकम आउँदा पनि अहिलेसम्म छात्रवृत्तिको रिजल्ट निकालिएको छैन,’ पौडेलले भने, ‘आºनो मान्छेलाई छात्रवृत्ति दिन रिजल्ट नगरेर रकम दिइएको छैन ।’
क्याम्पसले भदौ र मंसिरमा छात्रवृत्तिका लागि परीक्षा लिएको थियो । विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा क्याम्पसमा उत्तरमध्यमा, शास्त्री र आचार्य तहमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । उत्तरमध्यमा र शास्त्रीका विद्यार्थीलाई ९ हजार र आचार्य तहमा १० हजार रुपियाँ छात्रवृत्ति दिने गरिएको छ भने दलित र आदिवासी जनजातिलाई २० हजार छात्रवृत्ति दिइन्छ ।
स्ववियु सचिव रामहरि लम्सालले पटक–पटक क्याम्पस प्रशासनलाई रिजल्ट प्रकाशन गरेर रकम बाँड्न आग्रह गर्दा अटेर गरेको बताए । ‘विद्यार्थीलाई रकम बाँड्न हामीले क्याम्पस प्रमुख र सभापतिलाई भन्याँै तर मानेका छैनन्,’ लम्सालले भने, ‘जसले गर्दा विद्यार्थीले अहिलेसम्म छात्रवृत्ति रकम पाएका छैनन् ।’
विश्वविद्यालयले भदौ र फागुन महिनामा छात्रवृत्तिका लागि रकम क्याम्पसलाई पठाइसकेको छ । छात्रवृत्तिका लागि भदौमा परीक्षा प्रशासनले लिएको थियो ।
क्याम्पस प्रमुख लालमणि पाण्डेले छात्रवृत्तिका लागि लिइएको परीक्षाको रिजल्ट प्रकाशन गरी चाँडै रकम वितरण गरिने प्रतिक्रिया दिए । ‘रकम पनि ढिला आयो । म्यारिट लिस्ट निकाल्ने तयारीमा थियौँ,’ क्याम्पस प्रमुख पाण्डेले भने, ‘अब चाँडै रिजल्ट निकालेर रकम वितरण गर्नेछाँै ।’

प्रतिक्रिया