झ्यास डढाउँदा उदयपुरमा घरै खरानी

उदयपुर, ११ चैत । उदयपुरको त्रियुगा नगरपालिका १७ गैरुनमा शनिबार साँझ आगलागी हँुदा एक घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय गोकुल कार्कीको घर जलेर नष्ट भएको उदयपुर प्रहरीका डिएसपी लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

घरमुनि झ्यास डढाउने क्रममा लागेको आगोबाट घरसँगै लत्ताकपडा, खाद्यान्न, आधा तोला सुन र ७ हजार नगद जलेर नष्ट भएको पीडित कार्कीले बताए । ‘एउटा टिभी र ग्यासको सिलिन्डर मात्र निकाल्न पाइयो,’ कार्कीले भने, ‘अरू सबै सामान जल्यो अब के गर्नु † प्याज र लसुनमा खरानी लगाउन झ्यास डढाउँदै थिएँ, एक्कासि पत्करमा आगो लाग्यो, निभाउँदा निभाउँदै घरको पालीमा लगाएको थाकलले आगो टिपेछ’ हेर्दाहेर्दै घर खरानी भएको उनले सुनाए ।
आगलागीपीडित सात जनाको कार्की परिवार स्थानीय मञ्जु खड्काको घरमा शरण लिएर बसेको छ ।
दिउँसो करिब ४ बजे लागेको आगो १८ नम्बर बाहिनी भुल्केका नेपाली सेना, सशस्त्र र जनपद प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा एक घन्टापछि नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले बताए ।
मोरङमा १५ लाखको क्षति
मोरङको पूर्वीगाविसस्थित एक घरमा आगलागी हुँदा १५ लाख रुपियाँभन्दा बढीको धनसम्पत्ति जलेर नष्ट भएको छ ।
इन्द्रपुर–६ स्थित पीताम्बर ढकालको दुईतले घरमा शुक्रबार राति आगलागी हुँदा दुई तोला सुन, ९० तोला चाँदी, नगद ६० हजार र अन्य सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया