ग्राम्स्कीको देशमा…

roshan_sherchanसन् २००८ को नोभेम्बरमा नवमाक्र्सेली चिन्तक एन्टोनियो ग्राम्स्कीको देश भ्रमण गर्ने अवसर आउँदा हर्षले मन पुलकित भयो । सपनामा पनि सोचेको थिइनँ–इटलीको भ्रमणको अवसर पनि आउनेछ । इटलीका धेरै सीमित विम्बहरू छन् मसँग । चिन्तक ग्राम्स्की, फुटबलर रोबर्टो बाजियो, पिसाको ढल्केको टावर र रोमको ऐतिहासिक सभ्यता । जम्माजम्मी यी चार विम्ब । सोझो रुटको टिकट नपाएपछि, बैंकक हुँदै उड्नुपर्ने भयो । बैंककबाट करिब बाह्र–चौध घन्टाको लामो यात्रापछि बल्लतल्ल हामी इटलीको रोममा ओल्र्याँै । यात्रामा हामी तीनजना थियौँ । युथ एक्सन नेपालका पवन राय, चाइल्ड युथ नेटवर्कका भवगती अधिकारी र म । म त्यसताका एक्सन एड नेपालमा कार्यरत थिएँ र युवा कार्यक्रम हेर्थेँ ।
हामीहरू सामाजिक अभियानका बारेमा छलफल गर्न एक्सन एड इटलीबाट निम्त्याइएका थियौँ । विदेशी साथी पाओलो र उनको प्रेमिका चियरा हामीलाई रोम एयरपोर्टमा लिन आएका थिए । सामान्य चिनजानपछि पवन राय, भगवती अधिकारी र म उनको कारमा बस्यौँ । पाओलो र चियरालाई उनकै देशमा भेट्न पाउँदा खुसी लाग्यो । कारमा बस्न नपाउँदै आनन्दको आवेगलाई सम्हाल्न नसकेर मैले भने, ग्राम्स्कीको देशमा आउँदा खुसी लाग्यो । पाओलो क्षणभरलाई चकित भयो ।
सायद म ग्राम्स्कीको बारेमा जान्दछु भन्ने थाहा थिएन उनलाई । हुन पनि उनकै देशमा ग्राम्स्की अहिले बिर्संदै गइरहेको थियो कि ? राजनीतिक तथा सामाजिक आन्दोलनका बारेमा अध्ययन गर्दा ग्राम्स्कीका बारेमा थाहा पाएको थिएँ । ग्राम्स्की सांस्कृतिक प्रभुत्ववाद (कल्चरल हेजेमनी) सिद्धान्तको प्रतिपादकका रूपमा चिनिन्छन् । सफा र चौडा बाटामा गुडिरहँदा, पाओलोले पवन र भगवतीलाई सोध्यो– के यो इटलीमा तपार्इंहरूको पहिलो भ्रमण हो ? पवनले जवाफ फर्कायो– हो । भगवतीले पाओलोलाई सोध्यो – हामी त तपाईंको देशमा आयौँ । तपाईं कहिले नेपाल आउने ? पाओलो हामीतिर फर्केर हाँस्दै भन्न थाल्यो – म त केही महिनाअघि नेपाल आएर, कैलालीतिर घुमेर पनि फर्केको । के रोशनले भनेन ? भगवती जिल्ल परिन् । हुन पनि, मैले भगवतीलाई पाओलो र चियरा नेपाल भ्रमणमा आएको कुरा भन्न पाएको थिइनँ । पवनलाई चाहिँ त्यो कुरा थाहा थियो । यौटा अन्तरक्रियात्मक कार्यक्रम युथ एक्सनले नै आयोजना गरेको थियो । अलि लज्जित जस्तो भएर मैले भनँे– पाओलो, हो मैले भगवतीलाई यो कुरा भन्नै पाएको छैन, माफ गर्नुहोला । त्यति भनेर म झ्यालबाट बाहिरको मनमोहक दृश्य हेर्न थालँे ।

सन् १९२६ मा इटलीको फाँसीवादी सरकारले मुसोलिनीको हत्याको कारण संकटकाल घोषणा गर्‍यो र अन्य राजनीतिक पार्टीका सदस्यहरूलाई धरपकड सुरु गर्‍यो । यसै क्रममा ग्राम्स्की पनि पक्राउ परे र क्युविन अफ हेभेन जेलमा राखिए । कानुनी केसमा सरकारी पक्षले ग्राम्स्कीका विरुद्धमा अदालतमा यसरी बयान दिए–‘ग्राम्स्की अत्यन्त खतरनाक मान्छे हो, आगामी २० वर्षसम्म्मका निम्ति हामीले उसको सोच्ने क्षमतालाई बन्द गर्नुपर्दछ ।’ यस्ता झिल्काले मलाई ग्राम्स्कीको सम्झना अझ ताजा बनाइदियो ।
दुईदिने गोष्ठीमा इटलीको सामाजिक आन्दोलनको स्वरूप र संगठनका बारेमा धेरै जानकारी भयो । इटलीका विभिन्न क्षेत्रबाट सहभागीहरू आएका थिए, जो गरिबी निवारणमा काम गर्दथे । हामीले पनि नेपालमा अनुभव गरेका युवा अभियानका बारेमा आफ्ना विचारहरू राख्यौँ । पवन र भगवती अभियानमा प्रत्यक्ष संलग्न युवा भएकाले उहाँका प्रस्तुतिहरूलाई रुचि लिएर सुने इटलीका सहभागीहरूले । भगवतीले सुकुम्बासीहरूको आवास र शिक्षाको अधिकारका निम्ति काम गरेको आफ्नै अनुभव सुनाउँदा गोष्ठीका सहभागीहरू निकै झक्झकिएका थिए । गोष्ठी सक्किएपछि पाओलो र चियराले हामीलाई रोम घुमाउने बताए । रोमको कल्पना मात्रले मनभरि बग्रेल्ती आनन्दका लहरहरू दगुर्‍यो । केही महिनाअघि नेपाल आउँदा पाओलो, चियरा र उनका साथीहरूलाई मैले काठमाडौं घुमाएको थिएँ । वसन्तपुर दरबार स्क्वायरका सांस्कृतिक सम्पदामा उनीहरूले खास रुचि राखेका थिए । मन्दिरका टँुडालमा कँुदिएका देवीदेवताका विभिन्न यौनासनहरू देख्दा पाओलो चकित खाएको थियो । ऊ भन्दै थियो, ‘देअर मस्ट बि सम् रिजन विहाइन्ड इट ।’ मैले कारणहरू खुलाउन सकिनँ । त्यसपछि उनीहरू हप्ता दिनको निम्ति कैलालीको सुकुम्बासी बस्ती घुम्न गए, बेफुर्सदले म जान सकिनँ । उनीहरू सुकुम्बासीको खाद्य सुरक्षाका स्थिति बुझ्न, उनीहरूको संगठन र परिचालन सम्बन्धी विषयमा छलफल गर्न गएको थिएँ । कैलालीबाट फर्केपछि पाओलोले बस्तीका मानिसको सहयोगी भावना र खुला हृदयको खुलेर प्रशंसा गरेको थियो । पाओलोका अनुसार आधुनिकिकरणको चपेटामा पश्चिममा मानवीय सम्बन्ध धेरै आत्मकेन्द्रित, शुष्क र पैसाबाट निर्देशित हुँदै गइरहेको छ ।
विश्वव्यापी खाद्यसंकट, ऊर्जा संकट र वित्तीय संकटको असर निम्नमध्यम वर्गीय इटालियन व्यक्तिहरूलाई धेरै परेको रहेछ । ‘थ्री एफ क्राइसिस’ भन्यो एक विज्ञले गोष्ठीमा । फुड, फ्युल र फाइनानन्सियल । वृद्धवृद्धाहरू एक्लो र नीरस जीवन बाँचिरहेका रहेछन् इटलीमा पनि । परिवारको बढ्दै गएको विघटनले सामाजिक समस्याको रूप धारण गरिकेको रहेछ । गोष्ठीमा खाद्यअधिकारबाट वञ्चितहरूको संख्या ग्रामीण क्षेत्रमा बढ्दै गएको थाहा भयो । भूमिगत रेलवे स्टेसनमा माग्न बसेका, अशक्त घरविहीन वृद्धवृद्धाको अनुहारमा विषाद् र नैराश्यको रेखाहरू सल्बलाइरहेको देखिन्थ्यो । त्यस्तो दृश्य देख्दा दु:ख लाग्थ्यो । एकातिर फेसनको सहर भनेर चिनिएको देश इटली, अर्कोतिर चरम गरिबीमा बाँच्न विवश सीमान्तीकृत समुदायहरू, विसंगतबोध भयो ।
पाओलोको बाजे मुसोलिनीको निरकुंशताविरुद्ध लड्ने स्वतन्त्रता सेनानी रहेछ । पाओलो जो हामीलाई ठाउँहरू घुमाउँदै थियो, इटलीको आत्मकेन्द्रित र अत्यन्त पुँजीवादी चरित्रलाई मन पराउँदैन मात्र होइन, घृणा पनि गर्छ । ऊ वर्तमान पुँजीवादी इटलीलाई पनि संरचनात्मक फाँसीवाद भन्छ । पाओलो संवेदनशील छ । प्रसंग निकालेर आफ्नो बाजेको कुरा गरिरहन्छ । स्टेयरिङ घुमाउँदा पाओलोले दाहिने हातको बुढी औँलामा लगाएको प्लास्टिकको निलो औँठी बेलाबेला टल्कन्छ । चियरा पातली, तिखो नाक नक्साको । प्राय: मौन बस्ने । अलि लज्जालु तर अत्यन्त सुन्दरी । पाओलो, तिलचामले, गोरो अग्लो शरीरको, एक सुरले हामीलाई गाइडले झैँ स्थान, व्यक्ति, इतिहासका बारे जानकारी गराइराख्थे । रोमको हजारौँ वर्ष पुराना सभ्यताका अवशेषहरू सफा गल्ली, सुन्दर उद्यान, कलात्मक वास्तुकला र सहरभरि ठडिएको मूर्तिहरूमा प्रतिविम्बित भएको थियो ।
पाओलोले हामीलाई सुरुमा ट्रेभी फाउन्टेनतिर लग्यो । विश्वप्रसिद्ध ट्रेभी फाउन्टेन विस्मित पार्ने खालको थियो । पत्यारै गर्न नसकिने कलात्मक भव्यताको । अत्यन्त सुन्दर विशाल संगमरमरका मूर्तिहरूतिर फर्काइएको शक्तिशाली फ्लासलाइटका हजारौँ वाटका प्रकाशले फाउन्टेन अति यथार्थिक पेन्टिङजस्तो देखिन्थ्यो । मूर्तिहरूको अगिल्तिरको फोहोराबाट आएको पानीका धाराहरूले हावामा एक खालको मादकता छरेको थियो । सपनाको सुन्दरतम दृश्यजस्तो थियो त्यो । विस्फारित आँखाहरू लिएर म क्षणभरलाई विचारशून्य भएँ । पर्यटकहरू फाउन्टेन र वरपरका कलात्मक मूर्तिहरू हेर्दै मुग्ध देखिन्थे । फोटो खिचाउनेहरूको ठेलमठेल थियो । कोही प्रगाढ शान्तिको भाव ओढ्दै हातले फोहराबाट खसेको पुलको निलो पानी खेलाइरहेका थिए । धेरै जोडाजोडीहरू यसरी एक आपसमा इत्रिइरहेका थिए, मानौँ उनीहरू एकान्त बगैँचामा छन्, भिडभाडले घेरिएको फाउन्टेनमा होइन । म पनि आनन्दको स्वप्नलोकमा हराउँदै थिएँ, पाओलोले बोलाएर मेरो ध्यान भंग गर्‍यो ।
ध्यान भंग भएपछि म पाओलो तिर बढेँ । पाओलोले मलाई अलिकति हिँडाएपछि भन्यो, ‘म तिमीलाई त्यो शासकको मूढता देखाउँछु जसले यो वैभवशाली फोहरा बनायो ।’ मैले पहिला त केही बुझिनँ । फोहराको उत्तरी कुनोमा पुगेपछि मैले देखँे, त्यहाँ अनुमानित एक मिटर व्यासको संगमरमरको ढिस्को फोहोराको दृश्य नै छेकिने गरी ढ्यास्स राखिएको थियो । पाओलोले सोध्यो – रोशन, तिमीलाई थाहा छ, यो के हो ? मैले भने, ‘संगमरमरको ढिस्को । उसले फेरि सोध्यो, ‘के तिमी अनुमान लगाउन सक्छौ, यो यहाँ किन छ ?’ ‘अहँ, सक्दिनँ’ – मैले जवाफ फर्काए । उसले हाँस्न खोजेको भावमा भन्यो, त्यो फोहरा बनाउँदा तत्कालीन शासकले आफ्ना नागरिकहरूसँग अनुदान मागेको थियो रे । त्यो नजिकको पसलेले अनुदान दिन नमानेपछि शासक रिसाएर मूर्तिहरूको दृश्य छेकियोस् भनेर दुकानकै अगाडि ढिस्को राख्न लगाएछ । पाओलो हाँस्दै थप्छ– त्यो अत्यन्त तुच्छ मूर्खता थियो । मलाई पाओलोको कुराले घत पर्‍यो । उसलाई पनि केके कुराले छुन्छ, म अचम्म मान्छु । वैभवशाली भनिएको फाउन्टेन शासकको इतिहास थियो । तर, ढिस्कोले शासितको इतिहास दर्साइरहेको थियो । जसले ऊ बेला नै त्यो शक्तिशाली शासकको आज्ञाको अवज्ञा गर्ने साहस गर्‍यो, सायद त्यही व्यक्तिको आत्मामा कालान्तरमा ग्राम्स्की प्रवेश गरेको हुनुपर्छ ।
पुँजीवादको नाफामूलक विश्वव्यापीकरणले पैसा हुनेलाई सम्पूर्ण संसार सुम्पेको छ, नहुनेसँग आत्मसम्मानसमेत खोसेको छ । मानवसम्बन्धको यो चरम भष्ट्रीकरण देख्दा दु:ख मात्र लाग्दैन, रिस पनि उठ्छ । हुन पनि चाहे रोमन फोरम, विश्वप्रसिद्ध कोलोसियम हेर्दा होस् वा संसारकै सर्वाधिक धनी, सानो र स्वतन्त्र राज्य भेटिकन सिटी भ्रमण गर्दा होस्, यत्रतत्र पैसाकै अधिपत्य देखिन्थ्यो । पैसा बोलिरहेको देखिन्छ । रोम घुम्दा वल्ल मैले ब्लुज गायक जेजे केलको मनी टक्स गीतको अर्थ खुल्दै गरेको पाएँ । पैसाले नै मानव मानवबीचका सम्बन्धहरू निर्माण गरेको छ । पैसा बाहिर केही अस्तित्वमा छैन । मोक्षको सपना देखाउने धर्म पैसाअगाडि लम्पसार छ । समानताको सपना देखाउने राजनीति पैसाअगाडि नतमस्तक छ । पैसालाई नै अन्तिम सत्य बनाउने व्यवस्था राम्रो लागेन ।
रोम सहरभरि नै इतिहासको छाया मात्र देखेँ मैले । शक्तिशाली भूतकालीन इतिहासको छायाले इटलीको चिन्तनहरूलाई भविष्यतिर ताक्न नदिएकोझैँ माने । कोलोसियमबाट फर्कंदा मैले पाओलो र चियरालाई सुनाउँदै भनँे– मलाई यी ठाउँहरू घुम्दा टाइम मसिनमा चढेर शताब्दियौँ अगाडि पुगेजस्तो लागिरहेछ । आफ्नो स्वभावलाई भत्काउँदै चियरा बोलिन् ‘हो, हामी इटालियनहरू भविष्यमा भन्दा इतिहासको गौरवशाली समयमा बढी नोस्टालिक भएका छौँ, सायद । विज्ञान र प्रविधिको अपेक्षाकृत विकास हुन नसक्दा, इटलीका प्राविधिक, वैज्ञानिकहरू अमेरिका र बेलायतमा पलायन भइरहेको छ ।’ मैले ‘ए हो’, मात्र भन्न सकेँ । भिन्न कारणले नै किन नहोस्, नेपालमा हामीले भोगिरहेको विदेश पलायनको पीडा विकसित भनिने इटलीको पनि रहेछ ।
ट्रेभी फोहोरामा सिक्का फ्याकेपछि भाग्यले साथ दिन्छ भन्ने प्रचलन रहेछ । जसले पनि सिक्का फ्याँकेको देखिने । नीलो सङ्लो पानीभित्र सिक्का नै सिक्का मिल्किएका देखिन्थे । पुँजीवादका उपज सिक्काको छायाहरू पनि पानीको लहरसँगै हल्लिरहेको देखिन्थ्यो । पुँजीवादको सिक्का फ्याक्नजस्तो पुँजीवाद फ्याक्न कदाचित सजिलो छैन । तर, इतिहासले प्रस्ट देखाएको छ, असम्भव पनि छैन । पाओलो त्यही सपना बोकेर बाँचिरहेको एउटा इटालियन रहेछ । छलफलमा सामाजिक अभियन्ताहरू सामाजिक न्यायमा आधारित नयाँ विश्व संरचनाको कुरा गरिरहेका थिए । इटलीको आधुनिक सहर र बाहिरबाट देखिने सम्पन्नताभित्रको सामाजिक अन्यायलाई पाओलोले चिनाएपछि मलाई पनि फरक अनुभव भयो । तिलचामले प्रशन्नचित्त पाओलो मलाई पृथक् व्यक्ति लाग्यो । युरोपको विकसित पुँजीवादमा माक्र्सवादी हुनु नेपालको अविकसित समाजमा माक्र्सवादी हुनुभन्दा सायद धेरै गुणा कठिन थियो । पाओलोले देखाएको परिवेश, सुनाएको कथा र घटनाहरू सतहभित्रको थियो । सायद मैले पर्यटकले भन्दा भित्रसम्म देख्न सकेको थिएँ ।

प्रतिक्रिया