कार्कीका विषयमा एमालेमा विवाद

काठमाडौं, ९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्तिको विषयमा एमाले नेताहरूबीच तीव्र विवाद भएको छ । बिहीबारको स्थायी समिति बैठकमा कार्कीलाई प्रमुख बनाउने/नबनाउने विषयमा नेताहरूबीच मत बाझिएको हो ।

बैठक सुरु हुनासाथ नेताहरूबीच चर्काचर्की भएपछि सोमबार पुन: बस्नेगरी बैठक स्थगन भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, केपी शर्मा ओलीलगायत कार्कीलाई अख्तियारको प्रमुख बनाउन नहुने पक्षमा छन् । कार्कीलाई अख्तियारको प्रमुख बनाउन पार्टीले गरेको सिफारिस सच्याएपछि मात्र बैठक अघि बढ्ने अडान उनीहरूले लिएका थिए ।
स्रोतका अनुसार अध्यक्ष झलनाथ खनालले प्रमुख दलहरूबीच कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय भइसकेको भन्दै फिर्ता नहुने बताएका थिए । उनले दलहरूबीच भइसकेको सहमतिबाट पछाडि फर्कंदा अप्ठ्यारो पर्न सक्ने भन्दै विरोध नगर्न अन्य नेतालाई आग्रह गरेका थिए । बैठकको सुरुदेखि नै विरोध हुन थालेपछि पानी परेको कारण देखाउँदै सोमबारसम्मका लागि बैठक स्थगन गरिएको छ ।
बुधबार एमाले उपाध्यक्ष वामदेव गौतमले अख्तियार प्रमुखमा कार्कीलाई स्वीकार गरिएको वक्तव्य दिएपछि एमालेभित्र तीव्र विवाद देखिएको छ । पार्टीले सहमति गरिसकेको र अब कार्कीका विषयमा पुनर्विचार हुन नसक्ने गौतमको भनाइप्रति शंकर पोखरेललगायत नेताले विरोध जनाएका थिए ।
कार्कीको विषयमै विवाद हुँदा चुनावी एजेन्डाका अन्य विषयमा बैठकमा छलफल नै हुन पाएन । संविधानसभाको दोस्रो चुनावका विषयमा १४ वटा एजेन्डा तय गरी छलफल गर्ने तयारी एमालेको थियो ।

प्रतिक्रिया