फेरिँदै छन् देउडा गीतका भाका

Deuda-Nachदैलेख, ८ चैत । कुनै बेला मायाप्रितिका गीतमा निकै प्रचलित रहेको देउडा भाका पछिल्लो समयमा बदलिँदै गएका छन् । पछिल्लो समयमा (माओवादीको जनयुद्धको समयमा) मायाप्रितिमा देउडा भाका गाउनेहरू यो गीत गाउन छोडेर राजनितिक गीततिर आकर्षित भए । सोही क्रमसँगै बदलिएका देउडाप्रेमीहरूले अहिले आएर गीतलाई बढ्दै गएको महिलाहिंसातिर केन्द्रित बनाउन थालेका छन् ।

आधुनिक समयमा देउडा गीतमा खेलिने खेलमा राजनीति र महिला हिंसासम्बन्धी गीत आउन थालेकाले यसले फरक पहिचान पाउन थालेको देउडा गायक तेजबहादुर हमाल बताउँछन् । उनी भन्छन् मध्य र सुदूरपश्चिममा देउडा गीतसँगै खेलिने खेलमा राजनीति गीत आउन थालेपछि राजनीतिक गर्ने व्यक्ति यसतर्फ आकर्षित त हुन थालेका छन् तर देउडा भने फेरिँदै गएको छ ।
थानीय मेला, रत्यौली, चाडपर्वमा देउडामा मायाप्रेमका गीत गाउने यहाँका मानिसहरू अचेल देउडा गीतमा स्थानीयतह र देशको राजनीतिका कुरा भट्याउन थालेका छन् । स्थानीय साधारण महिलासमेत देउडा गीतमार्फत राजनीति जानकारी लिन र दिन थालेपछि सबै सर्वसाधारण अचम्ममा परेका छन् । सधैँ चुलो–चौका र मेलापातमा सीमित रहने ग्रामीण भेगका महिला राजनीतिलगायत विभिन्न खाले जनचेतना देउडामा गाउन र खेल्न थालेका लकान्द्र गाविसकी महिला स्वयंसेविका जानकी रावत बताउँछिन् । उनले भनिन् ‘राजनीति मात्र नभएर गर्भजाँच, गर्भवती भएको बेला महिलाले पाउनुपर्ने स्याहार–सुसार नियमित खोप र बालबालिकालाई खुवाउने औषधि, खोपबारेसमेत देउडा गीतमार्फत हामीले जानकारी दिने गरेको छौँ, ’
सशस्त्र द्वन्द्वको समयमा माओवादी राज्यसत्तामा केन्द्रित रहेर गाइने देउडा लोकतन्त्रपश्चात भने संविधानका कुरामा बढी जोड दिएको देउडा गायक हमालले स्पस्ट पारे । पक्ष र विपक्ष भएर खेलिने देउडामा भने एकपक्षले गाउँमा माओवादी गरेको ज्यादती र सरकारी सेनाले उनीहरूमाथि गरेको विजयलाई जोड दिन्थे भने अर्को पक्षले सरकारी सेनाले गरेको ज्यादतीको विरोध र उनीमाथि जनमुक्ति सेनाले गरेको विजयलाई बढी जोड दिने गर्दथे । तर, संविधान सभाको चुनावपछि भने नेताले कानुन नबनाएको देउडा गीतबाट आक्रोश पोख्ने गरेका छन् । दुई वर्षमा संविधान बनाउन छानिएका नेताले चार वर्ष बित्दा पनि संविधान नबनाउँदाका गुनासा पनि यसमै पोख्ने गरेका छन् । मध्य र सुदूरपश्चिमका ग्रामीण भेगमा गाइने गीत भएर होला अधिकांश महिला देउडा भन्ने बित्तिकै हुरुक्क हुने गर्छन् । महिलाले मेलापातमा यो देउडागीतमार्फत आफूले पाएको दु:ख पोख्ने गर्दछन् । राजनीति प्रशिक्षणमा सहभागी नभए पनि जुनसुकै पार्टीका नेताहरूका भाषण अचेल देउडा गीतमार्फत खण्डन गर्ने गर्छन् । मध्य र सुदूरपश्चिमको जीवित परम्परा मानिएको यो गीत राजनीति मात्र नभएर आफ्नो वस्ती भएका विकास निर्माण र आफूले पाएका सुबिधा पनि अन्यलाई जानकारी गराउन प्रयोग गरिने गरिन्छ ।

प्रतिक्रिया