“अमेरिका–इजरायल सम्बन्ध अनन्त कालसम्मलाई”

Barak-Obamaजेरुसेलम : अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका र इजरायलबीच विद्यमान विशेष सम्बन्ध अनन्त कालसम्म कायम रहने बताएका छन् । इजरायल भ्रमणका क्रममा बुधबार इजरायली सहर तेल अभिभ पुगेका राष्ट्रपति ओबामाले दुई देशबीचको विशेष सम्बन्ध कहिल्यै अन्त्य नहुने बताएका हुन् ।
इजरायल पुगेर उनले इजरायलको पक्षमा उभिनु अमेरिकाका लागि समेत आवश्यक रहेको बताए । ‘इजरायलसँगै उभिनु हाम्रो आधारभूत सुरक्षा चासो हो,’ उनले भने । तेल अभिभस्थित विमानस्थलमा उत्रिएका ओबामालाई स्वागत गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पुगेका थिए । ओबामालाई स्वागत गर्दै नेतान्याहुले दुई मुलुकबीचको दरिलो साझेदारीप्रति प्रतिबद्ध भएको भन्दै ओबामालाई धन्यवाद दिएका थिए ।
राष्ट्रपतिको हैसियतमा ओबामाले गरेको यो पहिलो इजरायल भ्रमण हो । इरान र प्यालेस्टाइनसँग इजरायलको बढिरहेको तानवपूर्ण सम्बन्धलाई साम्य पार्नु उनको भ्रमणको मुख्य उद्देश्य रहेको विश्लेषण गरिएको छ । मध्यपूर्वमा विद्यमान अवस्थाबारे अमेरिकाको आधिकारीक धारणा ओबामाको इजरायल भ्रमणका क्रममा प्रस्ट हुने अनुमान गरिएको छ ।
चार दिने भ्रमणका क्रममा उनी इजरायल र प्यालेस्टाइनबीचको विवादित क्षेत्र पश्चिम किनारसमेत पुग्नेछन् । सो क्रममा उनले इजरायल र प्यालेस्टाइनका नेतासँग भेटघाट र परामर्श गर्ने तय भएको छ । साथै जोर्डन पुगी त्यहाँका राजा अब्दुल्लाह द्वितीयसँग ओबामाले भेट गर्ने कार्यक्रम पनि तय भएको छ ।
इजरायलमा उग्र राष्ट्रवादी शक्ति निर्वाचनमार्फत मुलुकको बागडोर सम्हाल्ने हैसियतमा पुगेपछि ओबामा इजरायल पुगेका हुन् । अब गठन हुने नयाँ गठबन्धन सरकारका अधिकांश नेताहरू प्यालेस्टाइनप्रति आक्रमक छन् । प्यालेस्टाइनसँगको शान्ति वार्ताको विरोधमा रहेको उक्त गठबन्धन सरकारमा आउने भएपछि मध्यपूर्वमा तनाव उत्पन्न हुनसक्ने जोखिम बढेको विश्लेषण भइरहेका बेला वार्ताको वातावरण मिलाउन ओबामाले इजरायल भ्रमण गरेको बताइएको छ ।
साथै इरानले मुलुकमा जारी पारमाणविक कार्यक्रम नरोक्ने बताइरहेका बेला ओबामाले गरेको मध्यपूर्ण भ्रमणलाई अतिरिक्त चासोका साथ हेरिएको छ । अमेरिका, इजरायललगायत मुलुकले इरानको पारमाणविक कार्यक्रम आमविनाशकारी परमाणु हतियार उत्पादनतर्फ लक्षित रहेको आरोप लगाउँदै आएका छन् । तर, इरानले भने शान्तिपूर्ण प्रयोजनका लागि पारामाणविक कार्यक्रम जारी राखेको जनाउँदै विदेशी दबाबसामु लत्रिएर कार्यक्रम बन्द नगरिने जनाउँदै आएको छ । (एजेन्सी)

प्रतिक्रिया