डिएमकेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

नयादिल्ली : दक्षिण भारतको एक क्षेत्रीय राजनीतिक दलले केन्द्र सरकारबाट हट्ने निर्णय गरेको छ । सो दलले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसमेत गरेको छ ।
सरकारलाई समर्थन गर्दै आएका अन्य साना दलले पनि सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएका थिए, त्यसैले संसद्मा वर्तमान सरकार अल्पमतमा परेको टिप्पणी गर्न थालिएको छ ।
दक्षिण भारतको द्रबिड मन्नत्रा काजगाम (डिएमके) ले केन्द्र सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको मंगलबार जनाएको छ । भारतको तमिलनाडु क्षेत्रमा आधार रहेको सो दलले श्रीलंकामा रहेका तमिल जातिमाथि सरकारी दमन भएको जिकिर गर्दै यसको विरोध गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएको थियो ।
श्रीलंकामा सन् २००९ मा भएको तमिल विद्रोहीविरुद्धको कारबाहीमा श्रीलंकाली सरकारले युद्धअपराध गरेको आरोप भारत सरकारले सार्वजनिक रूपमा लगाउनपर्ने माग डिएमकेले गर्दै आएको छ । तर, केन्द्र सरकारले त्यसो गर्न नमानेपछि उक्त दलले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
भारतमा बामपन्थीहरूसमेतको सहभागितामा बनेको संयुक्त प्रगतिशील गठबन्धनले सन् २००९ देखि नै शासन सञ्चालन गर्दै आएको छ । गएको सेप्टेम्बर महिनामा पनि त्यहाँको अर्काे एउटा क्षेत्रीय दलले सरकारमाथिको समर्थन फिर्ता लिइसकेको थियो । मंगलबार समर्थन फिर्ता लिने घोषणा गरेको दलका हाल संसद्मा १८ जना सांसद रहेका छन् । सन् २०१४ मा भारतमा आम निर्वाचन हुँदै छ । निर्वाचनका बारेमा चर्चा चलेसँगै भारतमा सरकारमाथिको समर्थन फिर्ता लिने क्रम पनि सुरु भएको समाचारमा जनाइएको छ ।
डिएमकेका तमिलहरूको दल मानिन्छ । उसका समर्थक एवं मतदाता नै तमिल जातिका रहेका छन् । उनीहरूको श्रीलंकाका तमिलहरूसँग सांस्कृतिक मतैक्यता रहेको छ । श्रीलंकामा सन् २००९ मा भएको तामिल विरोधी कारबाहीका क्रकमा कैयाँै तमिलको हत्या भएको बताइएको थियो । सो क्रममा युद्धअपराध भएको भन्दै त्यसका विरुद्धमा सो दलले आवाज उठाएको थियो । (एएफपी)
सरकार अल्पमतमा छैन
भारतीय केन्द्र सरकारका एक वरिष्ठ मन्त्रीले संसद्मा सरकार अल्पमतमा नपरेको स्पष्ट पारेका छन् । भारतका वित्तमन्त्री पि चिदम्बरमले संसद्को तल्लो सदनमा रहेका सांसद संख्यामा वर्तमान सरकार समर्थित दलका सांसदहरूको संख्या अल्पमतमा परेको भनी गरिएको प्रचारको खण्डन गरेका छन् । राजधानी नयाँदिल्लीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले भने, ‘सरकार बलियो छ, सरकार अल्पमतमा पर्ने कुरै आउँदैन ।’
‘डिएमकेले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि पनि सरकारलाई कुनै संकट आइलागेको छैन, सरकारले आफ्ना कामकारबाही निरन्तर जारी राख्छ,’ उनले थपे । बाहिर प्रचार गरिएजस्तो सरकारलाई अप्ठेरो नपरको उल्लेख गर्दै उनले सरकारका लागि आवश्यक संख्या संसद्मा रहेको दाबी गरे ।

प्रतिक्रिया