सहकारीद्वारा शैक्षिक सामग्री वितरण

काठमाडौं : काभ्रे जिल्लाको व्यापारिक नगरी बनेपामा अवस्थित पब्लिक बहुउद्देश्यीय सहकारी संस्थाले वृद्धवृद्धालाई भोजन तथा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाको १२औँ वार्षिक उत्सवको अवसरमा संस्थाले मैत्रीकेन्द्र बाल आश्रमका अनाथ छात्रछात्रालाई शैक्षिक सामग्री वितरण र ध्यानकुटी विहारको वृद्धवृद्धालाई भोजन गराएको संस्थाका अध्यक्ष विधान जोशीले जानकारी दिए ।
सोही कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवालले सहकारीले बचत तथा ऋणका अलावा सामाजिक हितका लागि पनि काम गर्दै जानु सकारात्मक पाटो रहेको बताए । संस्थाका सञ्चालक राजकुमार खाँछीभोयाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्थाले आगामी दिन पनि यस्ता सामाजिक कार्य गर्दै जाने बताइयो । विगतमा पनि संस्थाले रक्तदान, नि:शुल्क स्वास्थ्य शिविर र सरसफाइलगायत कार्यक्रम गर्दै आएको अध्यक्ष जोशीले बताए । संस्थाले सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुरूप समुदायमा छरिएर रहेका स–साना पुँजीलाई एकीकृतरूपमा संकलन गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएको छ ।

 

प्रतिक्रिया