संविधानसभा चुनाव ४ असारमा

काठमाडौं, ५ चैत । संविधानसभाको नयाँ निर्वाचन आगामी ४ असारमा हुने भएको छ । प्रमुख दलका शीर्षनेता सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको आइतबार बसेको बैठकले चुनावको मिति तय गर्दै सरकारलाई सिफारिस गरेको हो ।

बैठकपछि समितिका संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटेर निर्णयबारे जानकारी गराएका थिए । रिक्त संवैधानिक निकायका प्रमुखहरू नियुक्त गर्ने सम्बन्धमा दलहरूबीच भएको सहमतिबारे पनि दाहालले रेग्मीलाई जानकारी गराएका छन् । शनिबार बसेको समितिको बैठकले रिक्त संवैधानिक निकायमा नियुक्ति गर्ने सहमति गरेको थियो ।
‘संवैधानिक अंगका प्रमुखका विषयमा शनिबारकै बैठकले सहमति गरेको थियो, असार ७ सम्म चुनावको मिति तोक्नुपर्छ भन्ने दलहरूको मान्यता छ,’ एमाले अध्यक्ष झलनाथ खनालले सौर्यसँग भने, ‘समितिको निर्णयबारे मन्त्रिपरिषद् अध्यक्षलाई जानकारी गराइएको छ । अब चुनावको मिति तोक्ने काम सरकारको हो ।’
दलहरूबीच निर्वाचन आयोगको प्रमुखमा नीलकण्ठ उप्रेती, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्की, महालेखा परीक्षकमा भानु आचार्य र लोकसेवा आयोगको प्रमुखमा कयोदेवी यमीलाई नियुक्त गर्न सरकारलाई सिफारिस गर्ने सहमति शनिबार भएको थियो । सम्भवत: सोमबार उनीहरूको नियुक्ति हुनेछ ।
दलहरूले संवैधानिक निकायका प्रमुख नियुक्तिमा सहमति गरेपछि राष्ट्रपति डा.रामवरण यादवले पनि संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश स्वीकृत गरी नियुक्तिका लागि बाटो खोलेका छन् । ‘सम्माननीय राष्ट्रपति डा.रामवरण यादवबाट नेपालको अन्तरिम संविधान २०६३ को धारा ८८ को उपधारा १ बमोजिम संवैधानिक परिषद् ( काम कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०६९ प्रमाणीकरण भएकाले यो विज्ञप्ति प्रकाशित गरिएको छ,’ राष्ट्रपति कार्यालयका तर्फबाट प्रवक्ता हरिकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दलहरूको सुझावका आधारमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेपछि रिक्त रहेका संवैधानिक निकायका प्रमुख नियुक्त गरिनेछन् । सदस्यहरू पछि छलफल गरेर नियुक्त गर्ने योजना दलहरूको छ । संवैधानिक अंगका प्रमुखहरू नियुक्तिपछि चुनावको मिति घोषणा गर्ने तयारीमा मन्त्रिपरिषद् छ । सोमबारसम्म संवैधानिक अंगका प्रमुखहरू नियुक्त गरी चुनावको मिति घोषणा गर्ने तयारी सरकारले गरेको छ ।

प्रतिक्रिया