माओवादी चुनावमा नजाने

mohan-baidhya-ji-1काठमाडौं, ४ चैत । नेकपा–माओवादीले प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्ले गर्ने संविधानसभा चुनाव भाग नलिने जनाएको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उक्त पार्टीका अध्यक्ष मोहन वैद्यले रेग्मी नेतृत्वको मन्त्रिपरिषद्ले गर्ने भनिएको संविधानसभा चुनावमा आफूहरूले सहभागिता नजनाउने बताएका हुन् ।

‘चुनाव हुन्छ या हुँदैन निश्चित छैन । चुनाव भइहाले पनि हामी भाग लिन्नौँ,’ वैद्यले भने, ‘त्यस विषयमा अहिले चर्चा गर्नु पनि आवश्यक छैन ।’ रेग्मी नेतृत्वको सरकार खारेजीको आन्दोलनलाई देशव्यापी बनाउने उनले बताए । ‘यो सरकारले गराउने चुनावको दृढतापूर्वक विरोध गर्छौं, भत्र्सना गर्छौं,’ उनले भने, ‘अब नयाँ सरकारको निर्माणका लागि गरिनुपर्ने आन्दोलनको खाकाबारे साना दलहरूको सहभागितामा छिट्टै बैठक बसी सडकमा उत्रन्छौँ ।’
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने चार दलको निर्णयप्रति तीनै दलका नेताहरूको असहमति रहेको दाबी गर्दै उनले मुलुक फासीवादतिर उन्मुख हुँदै निर्दलीय व्यवस्थातिर गइरहेको धारणा व्यक्त गरे । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले क्रान्तिलाई धोका दिएको आरोप लगाउँदै उनले ०५२ साल दोहोरिने चेतावनीसमेत दिए । लोकतन्त्रको मसिहा ठान्ने कांग्रेसले दलीय व्यवस्था अन्त्य गर्दै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एउटै व्यक्तिको जिम्मा दिएको भन्दै उनले आश्चर्य जनाए ।

प्रतिक्रिया