‘आन्दोलन होइन चुनाव’

pmकाठमाडौं : चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले यो सरकारको प्रमुख लक्ष्य संविधानसभाको चुनाव र शान्ति–सुरक्षा कायम गर्ने बताएका छन् । यसका लागि राजनीतिक दलले विश्वास गरेकोमा उनले आभार व्यक्त गरेका छन् ।
राष्ट्रपतिभवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबार पुगेर कार्यभार सम्हाल्दै चुनावी सरकारका अध्यक्ष रेग्मीले भने, ‘निर्वाचन आयोगसँग छलफल गरी तुरुन्तै चुनावको मिति घोषणा गर्नेछु । यसका लागि सबै राजनीतिक दलले मलाई पूर्णरूपमा सहयोग गर्नेछन् भन्ने अपेक्षा छ ।’
निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता उनले जाहेर गरे । ‘जतिसक्दो छिटो निर्वाचन गर्ने जिम्मेवारी लिएको छु, त्यो समयमै पूरा गरी मुलुकलाई निकास दिने कोसिस गर्छु,’ उनले भने । राज्यले संविधानसभाबाट नयाँ संविधान पाउने जनताको अधिकारलाई यो सरकारले पूर्णता दिलाउने उनको दाबी थियो । रेग्मीले आन्दोलनमा रहेका सबैलाई सहमतिमा आएर चुनावमा लाग्न आग्रह गरे ।
यसैबीच, बिहीबार नै बसेको तीन सदस्यीय मन्त्रिपरिषद् बैठकले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संविधानसभा निर्वाचनबाटै मुलुकले निकास पाउने भएकाले सम्पूर्ण राजनीतिक दललाई चुनावमा होमिन बैठकले आग्रहसमेत गरेको छ । यसैगरी, बैठकले यसअघिका सरकारले जथाभावी बाँड्ने गरेको आर्थिक सहायताको प्रचलनलाई तत्काल रोक्दै मापदण्डबाहिर कुनै रकम नबाँडिने निर्णय गरेको छ ।
बैठकले पेट्रोलियम पदार्थको अभाव हटाई तत्काल सहज आपूर्तिका लागि मुख्यसचिव, गृह, अर्थ, वाणिज्य सचिव र उद्योग वाणिज्य संघका पदाधिकारीसहितको समितिलाई तत्काल काम गरी अघि बढ्न निर्देशन दिएको छ । सो बैठकले पछिल्लो सरकारले गरेको कामको प्रगति विवरण र आगामी दिनको कार्ययोजना तयार पार्न सबै मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया