काठमाडौं : चार दलले नयाँ बन्ने मन्त्रिपरिषद् ११ सदस्यीय हुने र सरकारका पूर्वसचिवहरूलाई मन्त्री बनाइने निर्णय गरेका थिए । सोहीबमोजिम पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरेलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, परराष्ट्र तथा कानुन सुधार आयोगका पूर्वउपाध्याक्ष हरिप्रसाद न्यौपानेलाई कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला र श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी शपथपग्रहण गराइएको छ ।
बाँकी २३ वटा मन्त्रालयको जिम्मेवारी तत्काललाई रेग्मी आफैले सम्हालेका छन् । एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले नयाँ मन्त्री नियुक्तिमा सरकार प्रमुखलाई स्वतन्त्रता दिने र हस्तक्षेप नगर्ने जनाएका छन् । नयाँ मन्त्रिपरिषद्मा दलहरूको कुनै किसिमको प्रतिनिधत्व रहने छैन । एमाले अध्यक्ष झलनाथ खनालले सरकार प्रमुखले स्वविवेकमा मन्त्री चयन गर्ने जानकारी दिए ।
‘यसमा हामीले कुनै हस्तक्षेप गर्दैनौँ,’ उनले सौर्यसँग भने, ‘गर्र्यौं भने फेरि भागबन्डाको कुरा आउँछ, अर्को लफडा सुरु हुन्छ ।’ यद्यपि, सरकार प्रमुखले नयाँ मन्त्री नियुक्तिका लागि सल्लाह मागेको खण्डमा भने दिन तयार रहेको उनले जनाए । नयाँ मन्त्रिपरिषद्मा दुईजना महिला राख्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
यसैबीच, नवनियुक्त गृहमन्त्री माधव घिमिरेले पनि सरकारको एक मात्र प्राथमिकता निर्वाचन भएको बताएका छन् । उनले सरकारले आजैबाट चुनावको काम सुरु गर्ने जानकारी गराउँदै भने, ‘सरकारको प्रमुख काम चुनाव गराउने हो, सरकार त्यसैमा केन्द्रित रहन्छ ।’
प्रतिक्रिया