न्यायिक क्षेत्रको कालो दिन : बार

काठमाडौं : प्रधानन्यायाधीश खिलराज रेग्मी कार्यपालिकाको प्रमुख भएको दिनलाई नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएनले न्यायिक क्षेत्रको कालो दिनका रूपमा घोषणा गरेका छन् । प्रधानन्यायाधीश रेग्मीले चुनावी सरकारको अध्यक्षका रूपमा दिनका रूपमा सम्झना गर्ने निर्णय गरेका हुन् ।
दुवै बारले साठी वर्षको न्यायिक इतिहासलाई कालोदाग लगाउने रेग्मीलाई तत्काल प्रधानन्यायाधीशको पदबाट राजीनामा दिन आग्रहसमेत गरेका छन् । ‘वर्तमान प्रधानन्यायाधीश रेग्मीले स्वतन्त्र न्यायपालिकामा निर्लज्ज प्रहार गरी साठी वर्षको न्यायिक इतिहासमा कालो दाग लगाएका छन्,’ दुवै बारको ठहर छ ।
बहालवाला प्रधानन्यायाधीश अन्तरिम संविधानअनुसार कार्यपालिकाको प्रमुख बन्न नसक्ने र त्यससम्बन्धी रिट निवेदनले अदालतबाट किनारा नपाउँदै हतार–हतारमा कार्यपालिकाको प्रमुख बनी न्यायिक मर्यादामा प्रहार गरेको ठहर बारले गरेको छ । दुवै बारले भनेका छन्, ‘बहालवाला प्रधानन्यायाधीश प्रधानमन्त्रीमा नियुक्ति हुन नसक्ने
दाबीसहित परेका रिटमा सर्वोच्च अदालतको इजलासले गम्भीर संवैधानिक प्रश्न समावेश भएको ठहर गरे पनि त्यसको बेवास्ता गर्दै कार्यपालिकाको कार्यकारी प्रमुख बन्न जाने प्रधानन्यायाधीशले आºनो पदबाट राजीनामा दिनुपर्छ ।’
त्यसैगरी, नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश, प्रधानमन्त्री र राष्ट्रपतिलाई गैरकानुनी कार्य नगर्न आग्रह गर्दागर्दै पनि गैरकानुनी बाटोतर्फ गएकोमा रोष प्रकट गरेको छ । सीमित दलको सिन्डिकेटले निम्त्याएको यो परिस्थितिको र प्रधानन्यायाधीशको राजीनामा माग्ने विषयमा विदेशी बार एसोसिएसनसँग पनि परामर्श र सहयोग माग्ने भएको छ । देश/विदेश जतासुकैबाट विरोध गर्ने योजना बनाएको महासचिव सुनील पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया