विमानस्थल भन्सार निरीक्षण

काठमाडौ : अर्थसचिव शान्तराज सुवेदीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयको बुधबार आकस्मिक निरीक्षण भ्रमण गरेका छन् । सचिव सुवेदीले भन्सार मूल्यांकनमा मिलेमतो गरी कम मूल्यांकन गर्नेे भन्ने गुनासो बढ्दै गएको हुनाले भन्सार मूल्यांकनलाई यथार्थपरक बनाउन, भन्सार मूल्यांकनबाट हुने राजस्व चुहावटको नियन्त्रण गर्न, वस्तुको गलत वर्गीकरण गरी राजस्व चुहावट हुनसक्ने भएकोले वस्तुको सही वर्गीकरण गर्न निर्देशन दिए ।
निकासी प्रवद्र्धन गर्न भन्सार जाँचपास प्रक्रिया सरल र छिटो गर्नसमेत आग्रह गरे । त्यस्तै गैर भन्सार अवरोधलाई निरुत्साहित गर्न, प्रज्ञापनपत्र बमोजिम तथ्यांक प्रविष्टि गर्न र सिंगल आइटम इन्ट्री सिस्टमको कार्यान्वयनलाई प्रभावकारी बनाउन कार्यालयले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।
समयमै भन्सार जाँचपास गर्ने व्यवस्था मिलाउने, यात्रु जाँचपास प्रक्रियामा सरलीकृत गर्ने र कर्मचारीको व्यवस्थापनमा प्रभावकारिता ल्याउने, आइप्याड, ल्यापटप, आइफोनजस्ता विद्युतीय सामानहरू लुकाई छिपाई ल्याउनसक्ने भएकोले सोको नियन्त्रणका लागि सतर्कता अपनाउनसमेत निर्देशन दिए । वैदेशिक रोजगारमा गएर आउने यात्रुलगायत अन्यलाई अनावश्यक झमेला नगर्ने, ग्रिन च्यानल र रेड च्यानलको प्रयोगलाई प्रभावकारी बनाउन जिम्मेवार कर्मचारी खटाई सोको नियमित अनुगमन गर्नसमेत निर्देशन दिए ।

प्रतिक्रिया