विद्यार्थीको जीवनमा विद्यालयको दादागिरी

गुल्मी, १ चैत । गुल्मीमा विद्यालयको मनपरीका कारण २ सय २० विद्यार्थीले प्रवेशिका परीक्षा दिन नपाउने भएका छन् । उनीहरूलाई हाजिरी नपुगेको बहानामा परीक्षा दिनबाट वञ्चित गरिएको हो । विद्यालयले विद्यार्थीलाई असारको अन्तिममा परीक्षा फारम भराएको भए पनि उनीहरूले अन्तत: जाँच दिन नपाउने भएका छन् । जिल्लाका ९१ वटा विद्यालयले विद्यार्थीलाई १० वर्षसम्म पढाएर अयोग्य बनाएका हुन् । विद्यालयको हाजिरी नपुगेका कारण वञ्चित गरेको भन्ने रेडिमेट जवाफ छ । तर १० वर्षसम्म पनि विद्यार्थी पढाएर अयोग्य बनाएको तीतो यथार्थ लुक्न सक्दैन ।

पृथ्वी उच्च माध्यमिक विद्यालय पुर्कोट दहबाट जिल्लामै सबैभन्दा धेरै ३५ विद्यार्थीले प्रवेशिका दिन पाएनन् । प्रधानाध्यापक धनीश्वर अर्यालका अनुसार विद्यालयमा निरन्तर हाजिर नहुने र अनैतिक क्रियाकलाप गर्ने विद्यार्थीलाई एसएलसी दिनबाट वञ्चित गरिएको हो । ‘विद्यालयमा ७० प्रतिशतभन्दा कम हाजिर हुनेलाई परीक्षा दिनबाट वञ्चित गर्न हामी विवश भयौँ,’ उनले भने, ‘त्यसमा पनि पास हुनेजस्तो विद्यार्थीलाई ६० प्रतिशत नै भएको भए पनि सामेल गराउने तयारीमा थियौँ तर त्यो पनि भएन ।’
अर्यालले माघमा सञ्चालित सेन्टअप परीक्षामा फेल भएका र ७० प्रतिशत हाजिरी नपुगेका विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरेको बताए । उनले पढाइको समयमा कक्षामा उपस्थित नहुने र जंगलमा पुगेर तास खेल्नेलाई पनि परीक्षा दिनबाट वञ्चित गरेको बताए । तर, हाजिरीकै मात्र कुरा गर्ने हो भने अनैतिक काम गर्ने कतिपय विद्यार्थी विद्यालयमा हाजिरी गराइएको पनि पाइएको छ । अर्यालले विद्यार्थीलाई फारम भर्ने बेलामा नै निरन्तर विद्यालयमा उपस्थित हुन अनुरोध गरेको बताए ।
शिक्षा मन्त्रालयको निर्देशनमा कुनै पनि विद्यालयले सेन्टअप परीक्षा लिन नपाउने व्यवस्था गरेको छ । तर, पृथ्वी उच्च माध्यमिक विद्यालयल पुर्कोट दहमा भने माघको तेस्रो साता सेन्टअप परीक्षा सञ्चालन गरेको थियो । विद्यालयले गरिब तथा निमुखा अविभावकका छोराछोरीलाई असारमा फारम भराएर पैसा असुलेका थियो । तर उनीहरूलाई अहिले परीक्षा दिनबाट वञ्चित गरिएको छ ।
पृथ्वी उच्च माध्यमिक विद्यालय गुल्मीमा चर्चामा रहेको विद्यालय हो । यो विद्यालयमा विगत १ वर्षदेखि विद्यालय व्यवस्थापन समिति छैन भने कतिपय शिक्षकको राजनीतिले पनि विद्यालय ग्रस्त बनेको छ । पढाउने शिक्षक नेता बन्न थालेपछि यस्तो समस्या आएको हो । विद्यालयको विविध
कारण देखाउँदै जिल्ला शिक्षा कार्यालय गुल्मीले केही समय पहिला निकासासमेत रोक्का गरेको थियो ।
जिल्ला शिक्षा कार्यालय गुल्मीका उपसचिव भोजबहादुर केसीले कुनै पनि विद्यालयले आन्तरिक परीक्षा लिन पाउने तर सेन्टअप परीक्षा लिन नपाउने बताए । जिल्लाका ९१ विद्यालयबाट २ सय २० परीक्षार्थीले परीक्षा दिन नपाउने भएका हुन् ।
पृथ्वी उच्च माध्मिक विद्यालय पुर्कोट दहबाट ३५, सिद्धबाबा उच्च मावि तम्घासबाट ११, पृथ्वी मावि बडागाउँबाट ५, सीतापुर मावि अर्लाङकोटबाट ७, सूर्योदय मावि जुभुङबाट ५ जना, रेसुंगा मावि तम्घासबाट ४, महेन्द्र उच्च मावि तम्घासबाट ९, घोर्लेमावि दुबिचौरबाट ४, निमुखर्क मावि हाडहाडेबाट ४ र बोर्डिङतर्फ सबैभन्दा धेरै अयोग्य गराउने रिडर्स पब्लिक बोर्डिङ स्कुल तम्घास रहेको छ ।
यसरी, विद्यालयले परीक्षा फारम भराउँदै विद्यार्थी अयोग्य बनाएपछि अविभावकमा आक्रोश छाएको छ । अविभावकले परीक्षामा सामेल नबनाउने भए किन फारम भराएको भनेर प्रश्न गर्न थालेका छन् । कतिपय विद्यार्थीले त योसँगै जीवनमा प्रगतिको बाटो नरहेको भनेर पनि चित्त दुखाएका छन् ।
जिल्ला शिक्षा कार्यालय गुल्मीले उपलब्ध गराएको परीक्षा दिने विद्यार्थीको संख्यामा पनि व्यापक रूपमै घटबढको जानकारी आएको छ । जिल्लामा बुधबार साँझसम्म कति विद्यार्थी परीक्षामा सहभागी बन्छन् भन्ने यकिन तथ्यांकबाहेक अरू सबै तयारी पूरा भएको छ । पछिल्लोपटक शिक्षा कर्यालय गुल्मीले दिएको जानकारीअनुसार ४ हजार ७ सय ५७ नियमित परीक्षा दिँदै छन् । तर, यो विवरण बिहीबारसम्म फेरि परिवर्तन हुनसक्ने कार्यालयले जनाएको छ । आंशिकतर्फ २ हजार १ सय २८ परीक्षार्थीले परीक्षा दिँदै छन् ।

प्रतिक्रिया