अग्नि पीडित लामखुट्टेको टोकाईबाट हैरान

Saptari-Aaglagiराजविराज, २८ फागुन । शनिवार भएको आगलागीमा परेर घर गुमाएका सप्तरीको रायपुरका अग्नि पीडितका समस्या दिनदिनै थपिँदै गएका छन् । आगलागीमा सबै सामान जलेर नष्ट भएपछि पीडितहरुले आवासलगायतका अन्य रहत सामाग्री छिटो पाउन सकेका छैनन् ।
पछिल्लो समय उनीहरुलाई खानलाउन भन्दा पनि लामखुट्टेको चिन्ता बढेको छ । लामखुट्टेको टोकाईबाट बालबालिकाहरुमा कुनै महामारी रोग फैलने हो कि भन्ने आशंकाले सताउने गरेको छ ।
लामखुट्टेले टोकेर रातैभरि हैरान बनाएको पीडितहरुको गुनासो छ । लामखुट्टेका कारण पीडितहरु राती जागराम बस्न थालेका छन् ।
विभिन्न संघसंस्थाले खानका लागि दैनिक रुपमा दाल चामल सहयोग गरे पनि लामखुट्टेबाट बच्न आवश्यक पर्ने झुलको व्यवस्था गरिदिएका छैनन् ।
पीडित विनोद सदाले झुल किन्नलाई पनि आफूहरुसँग पैसा नभएको बताए । ‘सहयोग गर्नेले आफ्नो मनले सामाग्री ल्याएर वाँड्छन्,’ उनले भने, ‘सहयोग गर्नेसँग झुल चाहियो भनेर कसरी माग्ने ?’
खान र लगाउन समस्या नभए पनि बस्नका लागि वास र लामखुट्टेवाट वच्ने झुल आवश्यक रहेको पीडितहरुको माग छ । उनीहरुले छिटो वासको व्यवस्थाका लागि सहयोग जुटाईदिन पनि माग गरेका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिराज पन्तले पीडितका लागि भाडाकुडा, त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सम्पूर्ण सामाग्रीको ब्यवस्था मिलाईसकको जानकारी दिए । उनले हरेक परिवारका लागि झुल र खानेपानीका लागि ट्यूवेल (कल) लगायतका अत्यावस्यक सामाग्री उपलब्ध गराउन आफू सक्रिय रहेको वताए ।
विद्यालय पढ्ने बालबालिकाका लागि पाठ्य सामाग्री र कपडाको व्यवस्था यूनिसेफसँग कुरा गरिसकेको भन्दै पन्तले मंगलवार सामाग्री वितरण गरिने बताए ।
यसैवीच आगलागी पीडितका लागि छिन्नमस्ता सञ्चार समूह र सञ्चार यात्रा नेपालले संयूक्त रुपमा सोमवार राहत सामाग्री वितरण गरेका छन् ।
चिनी, सावुनलगायतका सामाग्री वितरण गरिएको समूहकि अध्यक्ष करुणा झाले वताईन् ।

प्रतिक्रिया