“तपाइंहरूको गुन कहिल्यै भुल्दिनँ”

Gyanendra-ShahaGyanendra-Shahaकाठमाडौं, २८ फागुन । झन्डै दुई वर्षदेखि परिवारसित सम्पर्क विच्छेद गरेर बैंकक बस्दै आएका र त्यहीँ बिरामी भएर अस्पताल भर्ना गरिएका छोरा पारसलाई उपचारपछि घर फर्काउने तयारी पूर्वराजपरिवारले गरेको छ । छोराको स्वास्थ्यमा चामत्कारिक सुधार आएपछि निकै हर्षित बनेका पूर्वराजा ज्ञानेन्द्र शाह उनलाई घर ल्याउने वातावरण बनाउन सक्रियता देखाइरहेका छन् ।

गत ९ फागुनमा हृदयाघात भएपछि पारसलाई उपचारका लागि बैंककस्थित समितिवेज अस्पताल भर्ना गरिएको थियो । पछिल्लो समयमा उनको स्वास्थ्यमा सुधार आउँदै गएको छ । उनको हेरचाहका लागि पूर्वराजपरिवारका सबै सदस्य बैंककमै छन् । पारसको उपचारमा सुरुदेखि नै सहयोग गर्दै आएका गैरआवासीय नेपाल संघ थाइल्यान्डका महासचिव सुनील खड्काका अनुसार छोराको स्वास्थ्यस्थितिबारे पिता ज्ञानेन्द्र दुईपटक र पत्ती हिमानीले तीन/चारपटक दैनिक अस्पतालमै पुगेर जानकारी लिने गरेका छन् । छोराको उपचारमा पूर्वराजाले कुनै कसर बाँकी नराखेको उनले बताए ।
पारसको उपचारमा संलग्न डाक्टरहरूसित नियमित सम्पर्क गरी पूर्वराजा ज्ञानेन्द्रले स्वास्थ्यमा देखिएको सुधार तथा खराब पक्षबारे जानकारी लिइरहेका छन् । पूर्वराजपरिवार बैंककको एक होटलमा बसिरहेको छ । पारसको स्वास्थ्यबारे
जानकारी लिन ज्ञानेन्द्र र हिमानी नियमित अस्पताल पुग्ने गरेको खड्काले बताए ।
‘ज्ञानेन्द्र सरकार पुत्र पारसको स्वास्थ्य अवस्थाबारे दैनिक जानकारी लिइरहनुभएको छ, उहाँ बिहान र बेलुका अस्पताल पुगेर आफँै जानकारी लिइरहनुभएको छ,’ खड्काले टेलिफोनमा सौर्यसँग भने । पूर्वराजा ज्ञानेन्द्रले कहीलेकाहीँ दिउँसो पनि अस्पतालमै बसेर समय बिताउने गरेको उनले बताए ।
पारस बिरामी भएको आठ दिनपछि पूर्वराजारानी ज्ञानेन्द्र र कोमल बैंकक पुगेका थिए । छोरा पारसको स्वास्थ्यस्थितिमा सुधार नआएपछि आºनो एकमहिने सिमरा भ्रमण छोट्याएर पूर्वराजदम्पती नातिनातिना हृदयेन्द्र, पूर्णिका र कृतिकासहित बैंकक गएका थिए । पारस अस्पताल भर्ना भएको दुई दिनपछि बहिनी–ज्वाइँलगायत आफन्त र ५ दिनपछि पत्नी हिमानी पनि बैंकक पुगेकी थिइन् ।

पतिको स्वास्थ्यलाभको कामना गर्दै हिमानीले बैंककस्थित एक मन्दिरमा धेरैपटक पूजापाठ पनि गरेकी छन् । मन्दिरमा गएर जप गर्नुका साथै उनले स्थानीय विधिअनुसार पूजापाठ गरेकी छन् । ‘पतिको स्वास्थ्यलाभको कामना गर्दै कोमल सरकारले स्थानीय मन्दिरमा पुगेर पूजा गरिबक्सेको थियो,’ खड्काले भने ।
हिमानीले भने दैनिक तीन/चारपटक अस्पताल पुगेर पतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेकी छन् । अस्पतालले उनलाई पारससितको भेटघाटमा रोक लगाएको छैन । उनी जुनसुकै बेला पनि बिरामी पतिलाई भेट्न जाने गर्छिन् ।
स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले पनि छोराको स्वास्थ्यलाभको कामना गर्दै ब्राह्मणहरूलाई बोलाएर स्थानीय मन्दिरमा होम र जप गरेका छन् । पारसलाई भेट्न बैंकक जानुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भगवान्मा भरोसा गर्न आºना शुभचिन्तकहरूलाई आग्रह गरेका थिए । सिमरामा हुँदा पनि स्थानीय मन्दिरमा पुगी उनले छोराको स्वास्थ्यलाभको कामना गर्दै पूजापाठ गरेका थिए ।
११ दिनसम्म अचेत अवस्थामा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको पारसको २० फागुनमा होस खुले पनि उनी अझै राम्रोसँग बोल्न सक्ने अवस्थामा भने छैनन् । मान्छे चिन्ने, अरूले बोलेको बुझ्ने तथा सुस्त रूपमा इसाराको सहायताले सामान्य गफ गर्नेभन्दा बढी सुधार आउन सकेको छैन । ‘उहाँ(पारस) खतरामुक्त भए पनि बाहिर जुन रूपमा प्रचार–प्रसार भएको छ, त्यसअनुसारको सुधार भने अझै हुन सकेको छैन । अझै आइसियुकक्षमै राखेर उपचार भइरहेको छ, केही दिनमा एमआरआई गरी थप चेक गरिने भएको छ,’ खड्काले भने ।
पारसको उपचारमा सुरुमा चार चिकित्सकको टोली खटिएको भए पनि पछिल्लो समयमा दुई जना डाक्टर मात्रै खटिएका छन् । अस्पतालले पिता ज्ञानेन्द्र, माता कोमल र पत्नी हिमानीबाहेक अरूलाई अहिलेसम्म पारसलाई प्रत्यक्ष भेट गर्न दिएको छैन । बैंककमै रहेका अन्य आफन्त र शुभचिन्तकहरूले आइसियुकक्षको बाहिरी सिसाबाट मात्रै उनलाई हेर्न पाएका छन् ।
पिता ज्ञानेन्द्र र पत्नी हिमानीले दैनिक पटक–पटक अस्पतालमै पुगेर पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिए पनि आमा कोमलले प्राय: होटलबाटै छोराको स्वास्थ्यबारे जानकारी लिने गरेकी छन् । उनी सोमबार नेपाल फर्कने योजनामा रहेको स्रोतले जनाएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले छोराको उपचारका लागि कुनै कमी हुन दिएका छैनन् । नेपालका चर्चित डाक्टरहरू उपेन्द्र देवकोटा, भगवान् कोइरालालगायतलाई पनि उनले बैंकक झिकाएका थिए । उनले पारसको उपचारमा आर्थिक सहयोग गर्ने व्यक्तिहरूको रकम पनि फिर्ता गरिसकेको स्रोतले जनाएको छ । पारसको उपचारमा मात्रै अहिलेसम्म करोडभन्दा बढी खर्च भइसकेको छ । ‘अस्पतालको बिलअनुसार करोडभन्दा बढी रकम खर्च भइसकेको छ । अहिले भने पहिलेको तुलनामा दैनिक खर्च कम भएको छ,’ खड्काले भने ।
पारसको स्वास्थ्यमा सुधार आउन थालेपछि उपचार सफल हुँदै गएको भन्दै पूर्वराजा ज्ञानेन्द्रले उपचारमा सुरुदेखि नै सहयोग गर्नेहरूको स्वागतमा भोज आयोजना गरेका थिए । त्यस्तै, बैंककमा रहेका अन्य नेपाली शुभचिन्तकहरूसँग पनि उनी खुसी साटिरहेका छन् । पारसको उपचारमा सघाउनेहरूलाई उनले निकै भावुकतासाथ धन्यवाद दिने गरेका छन् । ‘तपाईंहरूकै सहयोगले मेरो छोराले पुनर्जन्म पायो, यसमा म निकै खुसी छु । तपार्इंहरूको यो गुन म कहिल्यै भुल्न सक्दिनँ,’ पूर्वराजा ज्ञानेन्द्रको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रतिक्रिया