मुलुक भरि महाशिवरात्री पर्व मनाईदै

Pasupati Nathकाठमाडौं, २७ फागुन । महाशिवरात्री पर्व आज मुलुक भरि विशेष महत्वका साथ मनाईदैछ । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्री पर्व मनाइन्छ ।
काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा विहानैदेखि भक्तजनको घुईंचो लागेको छ । पशुपतिनाथ शैवमार्गी हिन्दूका लागि एकमात्र शिवलोकका रुपमा प्रसिद्ध छ ।
प्राचीन कालदेखि नै शैवधर्मको केन्द्र मानिने नेपालमा महाशिवरात्रीका अवसरमा विशेषगरी भारतबाट आउने साधुसन्तका कारण पनि पशुपतिनाथ मन्दिर परिसर निकै रमणीय बन्ने गरेको छ ।
हिन्दू संस्कृतिमा कालरात्री, सुखरात्री, मोहरात्री र शिवरात्री जस्ता चार रात्री प्रख्यात छन् । कसैले भगवान शिवको जन्म भएकाले आराधना गर्ने गरेको मान्ने गर्छन् भने कसैले शिवरात्रीको दिन भगवान शिवको पार्वतीसँग विवाह भएको विश्वास गर्छन् ।
यो दिन भगवान शिवलाई आराधना गर्ने सबैभन्दा उपयुक्त दिनका रुपमा धर्मग्रन्थहरुमा व्याख्या गरिएको छ । भगवान शिवको आराधना गरी व्रत उपासना गरेमा मनुष्य जीवनबाट मुक्ति पाउने किंवदन्ती छ ।
शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पुकार्ने गरिन्छ ।
कतै–कतै भगवान शिवलाई प्रसन्न पार्ने हेतुले शिवको प्रिय गाँजा, भाङ, धतुरो, घोट्टा आदिको सेवन गर्ने चलन छ ।

प्रतिक्रिया