कुरानको प्रावधानविपरीत ‘तलाक’ मान्य नहुने

नेपालगन्ज, २६ फागुन । शिक्षा र चेतना अभावमा मुस्लिम समुदायका ‘तलाकी’ (पारपाचुके) महिलाको समस्या थप जटिल भइरहेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय, नेपालगन्जद्वारा बिहीबार आयोजित ‘मुस्लिम महिलाको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी ग्रामीण क्षेत्रका महिला तथा धर्मगुरुहरूले अशिक्षाका कारण मुस्लिम महिलाले तलाकको पीडामा जीवनभरि आहत हुनुपरेको दु:ख पोखेका थिए ।

‘राज्यले मुस्लिम समुदायका महिलालाई शिक्षा पाउने वातावरण निर्माण नगरेसम्म तलाकको पीडा थप जटिल बन्दै जान्छ,’ मुस्लिम अगुवा महिला सर्वतआरा खानको बुझाइ छ । कुरानको अपव्याख्या गरी तलाक दिने पुरुषलाई कडाभन्दा कडा कारबाहीको व्यवस्था राज्यबाट हुनुपर्ने र इस्लाम धर्मका अगुवाहरूले पनि तलाकजस्तो संवेदनशील विषयमा समुदायस्तरमा छलफल चलाउनुपर्ने मुस्लिम महिलाको सुझाव पनि छ ।
‘मुस्लिम महिलाको शिक्षा, आर्थिक तथा राजनीतिकमा पहँुच नभएका कारण उनीहरू घरेलु हिंसाबाट पीडित हुने गरेका छन्, मुस्लिम समुदायमा तलाकको दुरुपयोग बढिरहेकाले पनि त्यस समुदायका महिलामाथि हिंसा हुने गरेको छ,’ मानवअधिकारकर्मी तथा अधिवक्ता अब्दुलअजिज मुसलमानको ठहर छ । इस्लाम धर्मअनुसार महिलालाई जथाभावी तलाक दिन पाइँदैन, कुरानले निर्धारण गरेको चार थरीको प्रावधान पूरा नगरी तलाक दिएमा त्यो इस्लाम धर्मको खिलाफ हुने मुस्लिम अगुवाहरू बताउँछन् ।
‘यदि कसैले पवित्र कुरानले निर्धारण गरेको प्रावधानविपरीत तलाक दिएको छ भने त्यो मान्य नहुने र नेपाल सरकारको कानुनअनुसार अदालतमा जान सकिन्छ,’ अधिवक्ता मुसलमानले रासस प्रतिनिधिसँगको संवादमा स्पष्ट पारे ।

प्रतिक्रिया