कालिकोट बन्दले जनजीवन प्रभावित

कालिकोट : सडक, विद्युत्, प्रशासनिक सेवाकेन्द्र र निर्माणाधीन सुनथराली विमानस्थल सञ्चालनको विषयलाई लिएर कालिकोटस्थित १७ गाविसका स्थानीयले गरेको बन्दले कालिकोटको जनजीवन प्रभावित भएको छ । बिहीबार ज्ञापनपत्र बुझाएर संघर्षका कार्यक्रम घोषणा गरेको समितिले पहिलो दिन शुक्रबार बिहानदेखि सदरमुकामलगायत ठाउँमा बन्द गरेको हो ।
बन्दले कालिकोटको व्यापार व्यवसाय, उद्योग धन्दा, यातायातलगायत बजार ठप्प छ । बन्दका कारण यात्रु र सेवाग्राही मर्कामा परेका छन् । लगातारको बन्दले स्थानीयवासी आक्रोशित भएका छन् । यसअघि नेकपा–माओवादीले गरेको बन्द, बिहीबार मधेसी जनअधिकार फोरमको नेपालको बन्द र आज –शुक्रबार) विकास निर्माणका कामलाई लिएर कालिकोट बन्द भएपछि स्थानीय आक्रोशित भएका हुन् ।
विगत लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको खुलालुदेखि हिल्सा सडकखण्ड सुचारु गर्नुपर्ने, मुम्रा गाविसमा रहेको पोतमारा जलविद्युत् केन्द्रका मेसिन खरिदका लागि पहल गर्नुपर्ने, प्रशासनिक कामका लागि रास्कोटमा दुई वर्षअघि निर्णय भएको तर विस्तार नभई बेवास्ता भएको प्रशासनिक सेवाकेन्द्र विस्तार र २० वर्षअघि कामको थालनी भएर निर्माणाधीन अवस्थामा रहेको सुनथराली विमानस्थल सञ्चालनका लागि पहल गर्नुपर्ने भन्दै आगामी फागुन २८ गतेदेखि सञ्चालन हुने जिल्ला परिषद्लाई लक्षित गरी चरणबद्ध आन्दोलन गरिन लागेको संघर्ष समितिका संयोजक विमल शाहीले बताए । संघर्ष समितिमा १७ गाविसका सरोकारवाला निकाय, नागरिक समाज, व्यापारी तथा राजनीतिक दलको सहभागिता रहेको बताइएको छ ।
पाँच वर्षअघि काम थालनी भएको खुलालु हिल्सा सडक डिल्पलगायत प्रोजक्टले काम थालनी गरे पनि व्यापक रूपमा रकम अनियमितता भएको भन्दै आलोचना भएपछि जिल्लास्थित राजनीतिक दल र नागरिक समाजले नेपाल सरकारलाई सो सडक निर्माणका लागि नेपाली सेनालाई दिन माग गरेका थिए । सोहीअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर काम थालनी गर्न निर्देशन दिएको नौ महिना भइसक्दा पनि काम सुरु भएको छैन । सेनाले निर्देशन नआएको भन्दै काम थालनी नगर्दा समस्या आएको स्थानीयवासीले बताउँदै आएका छन् ।
जनकपुर बन्द फिर्ता
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले चार दिनदेखि गर्दै आएको जनकपुर बन्दको कार्यक्रम शुक्रबार फिर्ता लिएको छ । फोरमका केन्द्रीय सदस्य सञ्जयकुमार साहका अनुसार १५ दिने परिक्रमा, शिवरात्रि र एसएलसी परीक्षालाई ध्यानमा राख्दै बन्द कार्यक्रम फिर्ता लिएको हो । जिल्ला विकास समिति धनुषाको १९औँ जिल्लापरिषद्मा उत्पन्न विवाद, अनियमितता र कार्यकर्तालाई कुटपिट गरिएको विरोधमा फोरम लोकतान्त्रिकद्वारा गत चार दिनदेखि जनकपुर बन्द गरिँदै आएको थियो ।

प्रतिक्रिया