खरमयूरको वैज्ञानिक अध्ययन हुने

रत्ननगर, २६ फागुन । विश्वमै लोपोन्मुख पक्षीको सूचीमा रहेको खरमयूरको अवस्था पत्ता लगाउन वैज्ञानिक अध्ययन गर्न लागिएको छ । नेपालको संरक्षित क्षेत्रमा मात्रै पाइने खरमयूरको दीर्घकालीन संरक्षणका लागि रणनीति तय गर्न अध्ययन गर्न लागिएको हो । अध्ययनका लागि प्राविधिकहरूलाई प्रशिक्षण दिइएको र आवश्यक प्रक्रियासमेत सुरु गरिएको बर्ड एजुकेसन सोसाइटी चितवनका पूर्वअध्यक्ष तथा चराविज्ञ हेम सुवेदीले जानकारी दिए ।

उनका अनुसार खरमयूरको शरीरमा अत्याधुनिक प्रविधि (जिपिएस सिस्टम) जडान गरेर खरमयूरको वासस्थान र यसको अवस्थाबारे वैज्ञानिक अध्ययन हुन लागेको हो । यो काम वैशाखबाट सुरु गरिने भए पनि प्रारम्भिक काम भने सुरु भइसकेको चराविज्ञहरूले बताएका छन् । यसका लागि विदेशबाट समेत चराविज्ञहरूलाई बोलाइएको नेपाल पक्षी संरक्षण संघले जनाएको छ ।
दुई दिनअघि मात्रै चितवनको सौराहामा प्राविधिहरूलाई यसको अध्ययनका लागि तालिम दिइएको थियो । करिब डेढ दशकअघि दक्षिण–पूर्वी एसियामा राम्रै पाइने गरेको खरमयूर पछिल्लो समयमा नेपाल, भारत र कम्बोडियामा मात्रै रहेको छ । नेपालमा चितवन निकुञ्जसँगै शुक्लाफाँटा, बर्दिया र कोसी क्षेत्रमा मात्रै यो चरा रहेको बताइन्छ । यी चारवटै क्षेत्रमा अध्ययन हुने विज्ञहरूले बताएका छन् । यकिन तथ्यांक नभए पनि चितवन निकुञ्जमा एक दर्जनभन्दा बढी खरमयूर रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया