भर्ना अभियान अलपत्र

कालीकोट, २४ फागुन । स्कुलमा पढाइ सुचारु नभएकाले कालीकोटका अधिकांश विद्यालयका विद्यार्थीहरू पढ्नभन्दा पनि सडकमा गएर दैनिक ज्याला मजदुरी गरेर काम गर्न थालेका छन् । दांहा गाविसको चुलिमालिका माविका एक दर्जन बालबालिका विद्यालयमा भर्ना अभियान चलेकाले पढाइ नभएका कारण आफूहरूले सडकमा काम गर्न आएको बताएका छन् । चुलीमाली मावि घोडेनाका कक्षा ७ मा अध्ययन गर्ने १६ वर्षीय छात्र केशर शाहीले आफू कापी, किताब र स्कुलको ड्रेसका लागि काम गर्न आएको बताए ।

घरमा आमाबुबाले आर्जन गर्न नसक्ने भएकाले आफूले आफ्नो लागि कमाउनुपरेको उनको भनाइ छ । उनीसँगै एउटै कक्षामा अध्ययन गर्ने मीनराज शाहीले पनि कापी, कलमका लागि भनेर काम गर्न आएको बताए । दुवै जना आफन्तकोमा बास बसेर काम गर्दै आएका छन् । काम गरेको नौ दिन भएको तर कामको जिम्मा लिएको ठेकेदारले दैनिक कति ज्याला दिने भन्नेबारे नभनेको उनीहरूले बताएका छन् ।
जिल्लाका विद्यालयमा भर्ना अभियान चलेको एक महिनाभन्दा बढी भएको भए पनि पढाउने शिक्षक नभएपछि विद्यार्थीहरू कापी–किताब बोकेर घर फर्किने गरेका छन् । कतै शिक्षकहरू आउने तर विद्यार्थीहरू नआउने समस्या बढेको बताइएको छ । कालीकोटको माथिल्ला पहाडी इलाकामा हिमपातका कारण विद्यालय सञ्चालनमा कठिनाइ भएको शैक्षिक पत्रकार देउलासिंह ठकुरीले बताए । उनका अनुसार फोइमहादेव, जुविथा, छाप्रे, राँचुली, चिल्खायालगायतका गाविसका विद्यालयहरूमा हिमपातले भर्ना अभियानमा प्रभावित हुुनुका साथै पढाइमा समस्या पारेका छन् । जिल्ला शिक्षा कार्यालय कालीकोटका सूचना अधिकारी रामहरि रिजालले स्थानीयस्तरमा भर्ना अभियान राम्रोसँग चलिरहेको बताए ।

प्रतिक्रिया