बादी समुदायका लागि आवासगृह बन्ने

रुकुम, २४ फागुन । जिल्लाको पश्चिम भेगमा पर्ने विजयश्वरी गाविसमा बसोवास गर्दै आएका सुकुम्वासी बादी समुदायका लागि आवासगृहको निर्माण हुने भएको छ । गाविसको वडा नं. ३ र ६ मा बस्दै आएका २० घर परिवार बादी समुदायका लागि सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रोल्पाले आवासगृह निर्माण गरिदिने भएको हो ।

आर्थिक अवस्था कमजोर रहेका बादी समुदायका लागि बसोवासको व्यवस्था गर्न वडा नं ३ मा १० रोपनी तथा वडा नं ६ मा साढे २ रोपनी जग्गा उपलब्ध गराउने सर्वपक्षीय निर्णय भएको विजयश्वरीका गाविस सचिव यादव पराजुलीले जानकारी दिए । सबै २० घर बादी परिवारका लागि यसै आर्थिक वर्षभित्रै आवासगृह निर्माण गरिसक्ने बताइएको छ । हाल विजयश्वरीको चौरजहारी क्षेत्रभित्र वडा नं ३ को लामिछाने गाउँ, नाखिराका साथै वडा नं ६ को स्यालखोलालगायतका ठाउँमा बादी समुदायको बसोवास रहेको छ । हाल उनीहरू सार्वजनिक ठाउँमा स–साना टहरा बनाएर बसिरहेका छन् ।
यसका साथै खलंगा, आठबीसकोट, बाँफीकोट, पीपल, पोखरा, जाङलगायतका गाविसमा पनि बादी समुदाय सार्वजनिक ठाउँमा टहरा बनाएर बसेका छन् । उनीहरूले मागेरै जीविकोपार्जन गर्दै आएका छन् । हरेक बाली भित्र्याउने समयमा उनीहरू सुल्पा (ककड तमाखु खानको लागि प्रयोग गरिने माटोको सानो भाँडो) निर्माण गरेर खाद्यान्न माग्ने गर्दछन्, । चैतमा गहुँ, असोज–कात्तिकमा मकै अनि धानलगायतका खाद्यान्न खलोस्वरूप उनीहरूले लिने गर्दछन् । यसका साथै नदीको छेउछाउमा बसोवास गर्ने उनीहरूले जीविकोपार्जनको अर्को माध्यम माछा मार्ने पेसालाई बनाएका छन् ।
वर्षाको समयमा नदीमा माछा मार्न नसकिने भएकाले हरेक वर्षायाममा आफूहरू सबैभन्दा ठूलो समस्यामा पर्ने गरेको पीपलका मनबहादुर बादीले बताए । मागेको खाद्यान्न सकिने र अन्य पेसा पनि गर्न नसकिने भएकाले वर्षायाम आफूहरूका लागि ठूलो संकटको समय भएको मनबहादुरको भनाइ छ ।

प्रतिक्रिया