नेपाललाई “गर या मर”को स्थिति

काठमाडौं : एएफसी च्यालेन्जकप २०१४ को संस्करणका लागि नेपालको सम्भावना लगभग गणितीयरूपमा मात्र कायम छ । काठमाडौंमा भइरहेको समूह ‘डी’को छनोटमा नेपालले एक खेलमा मात्र पराजय बेहोरेको र एउटा खेल खेल्न बाँकी नै रहेको भए पनि छनोट हुन धेरैवटा समीकरण पार गर्नुपर्ने हुन्छ । बुधबार समूहकै बलियो मानिएको प्यालेस्टाइनविरुद्ध भिड्दा नेपालले अनिवार्य जित, गोलअन्तर, नर्दन मारियानाविरुद्ध हुने बंगलादेशको नतिजासँगै अन्य समूहको समीकरणमा समेत नजर पुर्‍याउनुपर्नेछ ।
समूहको दोस्रो खेलमा सोमबार बंगलादेशविरुद्ध २–० ले पराजित भएपछि समूह विजेताका रूपमा छनोट हुने नेपालको सम्भावना लगभग समाप्त भएको थियो । ‘बेस्ट रनर–अप’को रूपमा छनोट हुने सम्भावना बलियो बनाउन नेपाललाई प्यालेस्टाइनविरुद्ध जतिसक्दो फराकिलो अन्तरमा जित आवश्यक छ । पहिलो खेलमा नर्दर्न मारियाना आइल्यान्डलाई ६–० ले पराजित गरेको नेपाल दोस्रोमा सोमबार दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशसँग दबाबपूर्ण प्रदर्शन गरे पनि २–० ले निराश बनेको थियो । यता प्यालेस्टाइन भने कम्तीमा बराबरीको नतिजा निकाल्दै समूह विजेता बन्ने योजनामा छ । बराबरी पनि प्यालेस्टाइनलाई समूह विजेता बन्न पर्याप्त हुनेछ ।
दुई खेलबाट छ अंक भएको प्यालेस्टाइन शीर्षस्थानमा छ । एक/एक हार सामना गरेका नेपाल र बंगलादेशको समान तीन अंक छ । गोलअन्तरमा नेपाल बंगलादेशभन्दा अगाडि छ । नेपालले जित मात्र नभएर गोलअन्तरमा ध्यान दिनुपर्ने छ भने बंगलादेशको नतिजासमेत हेर्नुपर्ने छ । कमजोर प्रदर्शन गरिरहेको मारियानाविरुद्ध बंगलादेश कम्तीमा ७ वा ८ गोलअन्तरको जितले पनि नेपाल प्यालेस्टाइनविरुद्ध बढीमा दुई गोलअन्तरमा विजयी भए पनि तेस्रो स्थानमा रहनेछ । छनोट चरणमा रहेका पाँचवटा समूहका दुईवटा वेस्ट रनरअप टिम पनि छनोट हुने प्रावधान यस पटक रहेको छ । पाँचवटा समूह विजेता, दुई वेस्ट रनरअप र एक आयोजक गरी कुल आठ टोली आगामी वर्ष हुने फाइनल चरणमा सहभागी हुनेछन् ।
यसअघि भएका सवै चार संस्करणमध्ये तीनवटामा मात्र नेपालले फाइनल चरणमा सहभागिता जनाउन सफल भएको थियो ।
सन् २०१० को संस्करणमा भने नेपाली टोलीले छनोटचरण पार गर्न सकेको थिएन । यस पटक नेपाल समूहको तेस्रो स्थानमा रहे एएफसी च्यालेन्जकपमा छनोट हुन असफल भएको दोस्रो पटक हुने छ । नेपालविरुद्ध प्यालेस्टाइनको दबदबापूर्ण इतिहास भएकाले पनि यो सम्भावना निकै बलियो देखिएको छ । (सौस)

प्रतिक्रिया