ढुवानी रोकिएपछि पेट्रोलियम अभाव चर्कियो

oilकाठमाडौं, २२ फागुन । नेपाल आयल निगमले तेल ढुवानी गर्न नसक्दा राजधानीलगायत मुलुकभर पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । बरौनीमा तेल लिन गएको बेला भारतीय लुटेराले नशालु पदार्थ खुवाएर ट्यांकर सहचालक अहमद देवानको हत्या गरेको विरोधमा अमलेखगन्जमा शव ल्याएर प्रदर्शन गरेका कारण तेल ढुवानी ठप्प भएपछि बजारमा अभाव बढेको हो ।

तेल अभाव भएपछि उपत्यकाका अधिकांश पम्प बन्द भएका छन् । सरकारी पम्पमा उपभोक्ताको भिड बढेको छ भने निजी तथा सार्वजनिक सवारीको चाप कम भएको छ । साझा र सुरक्षा निकायका पेट्रोल पम्पलाई तेल दिएको भए पनि निजी पम्पले तेल नपाएपछि अभाव भएको छ ।
निगमको थानकोट डिपोबाट साझा, नेसनल ट्रेडिङ, सेना र प्रहरीलाई तेल दिएको हो । सेना र प्रहरीको आफ्नै ट्यांकरबाट तेल ढुवानी गरेका हुन् भने साझा र नेसनल ट्रेडिङलाई भने निगमसँग रहेको डिस्पेन्सरसहितको तीन वटा ट्यांकरले तेल दिएको जनाइएको छ ।
साझा पेट्रोल पम्प पुल्चोकले नौ हजार लिटर पेट्रोल, नेसनल ट्रेडिङले ६ हजार लिटर डिजेल, सशस्त्र प्रहरीले १२ हजार पेट्रोल, जनपथ प्रहरीको हेडक्वाटर नक्सालमा रहेको पम्पले आठ हजार पेट्रोल र भद्रकालीमा रहेको सेनाको रिपुमदिर्नी पेट्रोल पम्पले १२ हजार लिटर पेट्रोल पाएको जनाएको छ ।
पेट्रोलियम व्यवसायीले सरकारलाई पटकपटक आफ्ना माग पूरा गर्न आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै आइतबार आकस्मिक रूपमा मुलुकभरका पेट्रोलपम्प बन्द गरेका थिए । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनको निर्देशनमा मुलुकभरका पम्पले कारोबार बन्द गरेपछि सर्वसाधारण समस्यामा परेका थिए । नेपाल आयल निगमसँग विभिन्न चरणमा एसोसिएसनले आफ्ना समस्या समाधानका लागि वार्ता गरे पनि सार्थक निष्कर्ष नआएको तथा सरकार व्यवसायीको समस्या समाधान भन्दा पनि संकट निम्त्याउनतिर लागेको भन्दै आन्दोलन सुरु गरिएको एसोसिएसनले जनाएको छ । पेट्रोलियमको सहज आपूर्ती, बढ्दो असुरक्षा, चन्दा आतंक रोक्न सरकारलाई माग गरिए पनि सुनवाई नभएकाले कारोबार बन्द गरेर आन्दोलन सुरु गरेको जनाइएको छ ।
यता नेपाल आयल निगमको मासिक घाटा फेरि चुलिएको छ । एलपी ग्यास र डिजेलमा मात्र एक करोड चार लाख रुपियाँ कुल नोक्सानी भएपछि मासिक नोक्सानी बढेको जनाइएको छ ।
मार्च महिनामा भारतीय आयल निगम (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार अहिले निगमको मासिक नोक्सानी ७३ करोड २८ लाख रुपियाँ रहेको छ । एलपी ग्यासमा मात्र ६६ करोड ७१ लाख र डिजेलमा ३६ करोड ९६ लाख रुपियाँ कुल नोक्सानी रहेको निगमले जनाएको छ ।
अघिल्लो महिना निगमको कुल नोक्सानी ३२ करोड ५३ लाख थियो । योभन्दा अघिल्लो महिना निगमको मासिक नोक्सानी २३ करोड २८ लाख रुपियाँमा झरेको थियो । अहिले एलपी ग्यासमा प्रति सिलिन्डर पाँच सय १३ रुपियाँ १४ पैसा र डिजेलमा प्रति लिटर पाँच रुपियाँ ४३ पैसा घाटा रहेको जनाइएको छ ।
तर, पेट्रोलमा प्रति लिटर दुई रुपियाँ २७ पैसा, मट्टितेलमा नौ रुपियाँ १६ पैसा, आन्तरिक हवाई इन्धनमा २० रुपियाँ २४ पैसा र अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा प्रति लिटर २४ रुपियाँ ९७ पैसा नाफा रहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा ग्यास र डिजेलमा भइरहेको घाटा कम गर्न नसक्दा कुल नोक्सानी बढ्दै गएको निगमका कामु कार्यकारी निर्देशक सुरेश अग्रवालले बताए ।

प्रतिक्रिया