अखिल क्रान्तिकारीसित झुके सञ्चालक

काठमाडौं, २२ फागुन । अखिल क्रान्तिकारीको दबाबमा विद्यालय सञ्चालकहरू झुकेपछि विद्यार्थी संगठनहरूले निजी विद्यालयमा समेत संगठन खोल्न पाउने भएका छन् । सोमबार शिक्षा मन्त्रालयको अगुवाइमा अपिन, प्याब्सन, एनप्याब्सन, हिसान र अखिल क्रान्तिकारीबीच विद्यार्थी संगठनलाई निजी विद्यालय तथा कलेजमा काउन्सिलका नाममा संगठन खोल्न दिने निर्णय भएको हो ।

संगठन खोल्न पाउने र नपाउने भन्दै आइतबार र सोमबार पालैपालो दुई दिनसम्म निजी विद्यालय सञ्चालक र अखिल क्रान्तिकारीले देशभरका विद्यालय बन्द गराएका थिए । सोमबार साँझ शिक्षा मन्त्रालयको अगुवाइमा भएको छलफलमा विद्यालयमा विद्यार्थी संगठन खोल्न कुनै अवरोध नगर्ने, विद्यार्थीमाथि लगाइएको मुद्दा फिर्ता गर्ने तथा गोल्डेन गेटमा भएको घटनाको विषयमा छानबिन कमिटी गठन गर्ने सहमति भएको अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले जानकारी गराए ।
अध्यक्ष शर्माका अनुसार विद्यार्थी संगठन र कलेजको
इच्छाअनुसार संगठन खोल्न पाउने सहमति भएको छ । ‘आवश्यक ठाने विद्यार्थी संगठनले कलेजमा संगठन खोल्न पाउँछन्,’ उनले सौर्यसँग भने ।
यता, हिसानका अध्यक्ष रमेश श्रेष्ठले काउन्सिल खोल्न सक्ने सहमति भएको बताए । ‘विद्यार्थी संगठनले विद्यार्थी हकहितका लागि काउन्सिल खोल्न सक्छन्,’ उनले भने ।
सोमबार साँझ भएको छलफलमा गोल्डेन गेटमा भएको घटनाको छानबिन गर्न शिक्षा मन्त्रालयको संयोजकत्वमा ९ सदस्यीय छानबिन कमिटी गठन गरिएको छ । यसैगरी, गोल्डेन गेट कलेजले गाडी तोडफोडमा संलग्न भएको आरोपमा अखिल क्रान्तिकारीका कलेज इकाइ अध्यक्ष सरोजकुमार कामती र सुमन जिटीमाथि लगाइएको मुद्दा फिर्ता लिने सहमति भएको छ । बिहीबार कलेजको गाडी आगजनी गरेको भन्दै उनीहरूमाथि कलेजले मुद्दा हालेको थियो । सहमतिमा अबदेखि दुवैले विद्यालय र कलेज बन्द नगर्ने भएका छन् ।
दोहोरो बन्द, मारमा विद्यार्थी

काठमाडौं, २२ फागुन । गोल्डेनगेट कलेजमा अखिल क्रान्तिकारीले संगठन विस्तार गर्न खोज्दा उत्पन्न भएको विवादले देशभरिका निजी विद्यालय प्रभावित बनेका छन् । निजी कलेज सञ्चालक र अखिल क्रान्तिकारीबीचको विवादले विद्यालय बन्द भएपछि यसको मार विद्यार्थीले खेप्नुपरेको छ ।
दुई संगठनको बन्द गर्ने प्रतिस्पर्धाका कारण विद्यार्थीले दुई दिन विद्यालय जान पाएनन् । गोल्डेनगेट कलेजमा अखिल क्रान्तिकारीले संगठन विस्तार गर्न नदिएको झोंकमा कलेजको बसमा आगो लगाएपछि निजी विद्यालय आइतबार र सोमबार ठप्प भएका थिए । दुई दिन लगातार बन्द हुँदा नजिकै आइरहेको एसएलसी परीक्षा तथा वार्षिक परीक्षामा विद्यार्थी विद्यालय जान पाएनन् ।
आगजनीको विरोधमा निजी शैक्षिक संस्था सञ्चालकहरू एसोसिएसन फर प्राइभेट एजुकेसनल इन्स्टिच्युसन्स, नेपाल (अपिन)ले आफँै विद्यालय बन्द आह्वान गरेको थियो । यता, सोमबार सत्तारूढ एमाओवादी निकट अखिल क्रान्तिकारीले आइतबार भएको बन्दको विरोधमा अर्को बन्द गराएका थिए ।
पार्किङमा राखिएका गाडीसमेत तोडफोड
सोमबार निजी विद्यालय बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारीका कार्यकर्ताले विद्यालयका गाडी तथा विद्यालय तोडफोड गरेका छन् । उनीहरूले सोमबार पार्किङमा राखिएका निजी विद्यालयका ३ वटा गाडी तोडफोड गरेका छन् । निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका अनुसार कोटेश्वरको ग्रामर पब्लिक विद्यालयको दुई तथा मीनभवनस्थित ज्ञानकुञ्ज विद्यालयको एक गाडी तोडफोड भएको छ । पार्किङमा विद्यालयभित्र राखिएको गाडी बिहान ५ बजे गएर विद्यार्थीले तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको सिसा फुटेको छ । दाङमा क्रान्तिकारीका कार्यकर्ताले माउन्ट भ्यु बोर्डिङ स्कुल, विद्यानीलकण्ठ उमावि, जनज्योति विद्यामन्दिर, अन्नपूर्ण र राप्ती आवासीय माविमा तोडफोड गरे ।
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले निजी विद्यालयले विद्यालय बन्द गराएर राजनीति गर्न खोजेकाले बन्दविरुद्ध बन्द गरिएको बताए । ‘कलेजमा विद्यार्थी संगठन पनि खोल्न नदिने अनि सुरक्षा चाहियो भनेर विद्यालय बन्द गर्ने ?’ उनले भने, ‘त्यसका विरुद्ध हामीले बन्द गरेका हौँ ।’ उनले निजी विद्यालयमा हुने गरेको आर्थिक विषय उजागर हुने डरले संगठन खोल्न नदिएको आरोप लगाए ।
प्याब्सनका वरिष्ठ उपाध्यक्ष लक्ष्यबहादुर केसीले जुनसुकै बहानामा विद्यालय बन्द भए पनि त्यसले बढी असर बालबालिकालाई पर्ने बताए । उनले आफूहरूले बाध्यात्मक अवस्थामा बन्द गराएको जानकारी गराउँदै विद्यालय शान्ति क्षेत्र घोषणा मात्र नभएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । केसीले विद्यार्थी संगठन नभई विद्यार्थी काउन्सिल भने निजी विद्यालयमा खोल्न पाउने उल्लेख गरे ।
बन्दका कारण सोमबार पनि देशभरका शैक्षिक संस्था पूर्णरूपमा ठप्प भएका थिए । जसले गर्दा लाखौँ विद्यार्थी पढ्ने अधिकारबाट वञ्चित भएका छन् । सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरे पनि कुनै न कुनै बहानामा बन्द हँदै आएका छन् ।
गोल्डेनगेटका सिइओ रमेश सिलवालले बाहिरी विद्यार्थी आएर संगठन खोल्न थालेपछि नदिएको बताए । ‘विद्यालयका विद्यार्थी आफँैले संगठन खोल्न तयार भए दिने थिएँ,’ उनले सौर्यसँग भने, ‘तर संगठन खोल्ने कलेजका विद्यार्थी थिएनन् । उनीहरू कलेजमा आक्रमण गर्ने मनसायले संगठन खोल्न आएका थिए ।’ हिसानका उपाध्यक्षसमेत रहेका सिलवालले विद्यार्थी संगठनले कलेजमा आई गाडीमा आगो लगाएपछि कारबाहीको माग गर्दै आफूहरूले बन्द गरेको जानकारी गराए ।
अभिभावक संघ नेपालका उपाध्यक्ष सरिता अर्यालले बालबालिकाले पढ्न पाउने अधिकार कुण्ठित गर्नु नहुने बताइन् । ‘अन्तरिम संविधानमा शिक्षालाई मौलिक हकका रूपमा स्थापित गरिए पनि माग पूरा गर्ने नाममा शैक्षिक संस्था सञ्चालक वा राजनीतिक दलका भ्रातृसंगठनको पहिलो निशाना विद्यालय हुँदै आएको छ,’ उनले भनिन्, ‘शैक्षिक संस्थामा राजनीतिमाथि राजनीति बढ्दो छ । यसलाई सरकारले तत्काल रोक्नुपर्छ ।’

प्रतिक्रिया