छोरो फर्कने आसमा गुज्रियो २७ वर्ष

Dilip-tharuki-aamaराजविराज, २० फागुन । पञ्चायतविरोधी आन्दोलनमा लागेको आरोपमा २७ वर्षअघि राज्य पक्षबाट बेपत्ता बनाइएका सप्तरी फत्तेपुर–३ का दिलिप चौधरीकी आमा ८६ वर्षीया कुमरवतीदेवी अझै छोरो फर्कने आशमा छिन् । छोरो फर्कने आशमै यतिका वर्ष गुजारेकी कुमरवतीदेवी अहिले थला परेकी छन् । विगत डेढ महिनादेखि बिरामी परेकी उनको खानपिनदेखि मलमूत्रसम्म ओछ्यानमै हुन थालेको छ ।

विवाहिता छोरी भुन्टीको सहारामा बाँचेकी उनी अधिकांश समय अचेत अवस्थामै रहने गरेकी छन् । यस्तो अवस्थामा पनि ‘दिलिप कहिले आउँछ’ भन्दै एक्लै भुत्भुताउने गरेको छिमेकी यशोदा चौधरी बताउँछिन् ।
कुमरवतीदेवीको रेखदेखमा लागेकै कारण भुन्टीका पतिले अर्को विवाह गरेर घरजम गरेपछि आमाछोरी दुवैको अवस्था दयनीय बनेको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीयका अनुसार दुई छोरीको लालनपालनसहित आमाको स्याहार गर्दै आएकी भुन्टीले समेत अधिकांश समय घरबाहिरै बिताउनुपर्ने भएपछि वृद्धाको रेखदेख हुन सकेको छैन । भुन्टी आफ्नी आमालाई घरमा छोडेर दाउरा काट्न जंगल जाने र छोरीहरू स्कुल जान थालेपछि कुमरवतीको अवस्था पीडादायी बन्दै गएको छिमेकीको भनाइ छ ।
बमकाण्डमा सहभागी भएको आरोपमा ०४२ सालमा पक्राउ परेका दिलिपको हालसम्म अवस्था अज्ञात छ । राजधानीको अन्नपूर्ण होटल, सिंहदरबार र नारायणहिटी दरबारनजिक भएको बम विस्फोटको तीन दिनपछि पक्राउ परेका उनलाई सदरखोर डिल्लीबजारबाट बेपत्ता पारिएको उनका साथी खिलानाथ लेखीले बताए । मरेको भए पुष्टिसहित सहिद घोषणा हुनुपर्ने अन्यथा खोजतलास गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने दिलिपका अर्का साथी बुदुर चौधरीको भनाइ छ ।

प्रतिक्रिया