केटी पटयाउने नक्कली लेफ्टिनेन्ट प्रहरी फन्दामा

जाजरकोट, १९ फागुन । नेपाली सेनाको बर्दी दुरूपयोग गरी केटी पटयाउन खोज्ने नक्कली ‘लेफ्टिनेन्ट’ प्रहरी फन्दामा परेका छन् । सेनाको ड्रेसमा खिचिएको आफ्नो तस्बिर देखाएर आफू नेपाली सेनाको ‘सेकेन लेफ्टिनेन्ट’ भएको बताउने जाजरकोट लहँ–४ का २७ वर्षीय दीपक मल्ल प्रहरी फन्दामा परेका हुन् ।

दुई पत्नी र ४ छोराछोरी भएका उनले सक्ला–३ कि १९ वर्षीया उषा (नाम परिर्वतन) लाई त्यही फोटो देखाएर बिहे गर्ने प्रलोभनमा पारी लामो समय आफूसँग राखेको आरोप आफन्तले लगाएका छन् । मल्ललाई प्रहरीले बिहीबार सदरमुकामबाटै पक्राउ गरेको हो ।
आफन्तका अनुसार उषा पनि पूर्वविवाहित महिला हुन् । श्रीमान्सँग राम्रो सम्बन्ध नभएपछि उनी माइत बस्दै आएकी थिइन् । उषा र दीपकबीच गत भदौदेखि नियमित टेलिफोन सम्पर्क हुँदै आएको भए पनि प्रत्यक्ष भेट भने कात्तिकमा भएको बयानमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी इन्स्पेक्टर चित्र गुरुङले जानकारी दिए । आफूलाई नेपाली सेनाका अधिकारी बताउने दीपक ‘बिदा मिलाएर’ कात्तिकमा उषाको घर सक्ला पुगी उनीसहित उनको परिवारलाई भेटेका थिए । उनीसँगै अर्का एक व्यक्ति पनि साथमा गएका थिए । स्रोतका अनुसार दीपकले आफूसँग जानेलाई आफ्नो ‘पर्सनल ड्राइभर’ बताएका थिए । उनीसँगै जानेलाई पनि प्रहरीले थुनामा राखेको छ । दीपकसामु परेका बेला उनले ‘जय नेपाल सर’ भन्दै दीपकलाई सलाम गरी अरूलाई झुक्याउने गरेका थिए ।
नियमित फोन सम्पर्कपछि उषा दीपकसँग नजिकिएकी थिइन् । गत माघ १५ मा बिहे गर्न भन्दै उनीहरू उषाको घरबाट सदरमुकाम खलंगा आएका थिए । सदरमुकाम आइसकेपछि उनले उषालाई होटेलमा राखेका थियो । सदरमुकाम आइसकेपछि ‘हजुरको दरबन्दी कहाँ हो’ भन्दा दीपकले हरेकपटक भिन्नाभिन्नै जानकारी दिने गरेको पीडित उषाले प्रहरीसमक्ष बयान दिएकी छिन् । उसालाई दीपकले सदरमुकामको होटेलमा राख्दै आएका थिए । १९ माघमा उनले आफूलाई बिहे गर्न नेपालगन्ज जाउँm भनेको तर उनको व्यवहार शंकास्पद लागेपछि आफूले नमानेको उषाको भनाइ छ । उषाका आफन्तले उसालाई बेच्ने उद्देश्यले दीपकले बिहेको बहाना बनाई घरबाट लगेको आरोप लगाउँदै प्रहरीसमक्ष चेलीबेटी बेचबिखनविरुद्धको जाहेरी दर्ता गरेका छन् ।
तस्बिर एनिमेटेड
नेपाली सेनाको बर्दी लगाएको फोटो एनिमेसन गरी तयार पारिएको थियो । दीपकको फोटोलाई नेपाली सेनाको पोसाकमा एनिमेसन गर्ने फोटोग्राफरलाई पनि प्रहरीले केहीबेर नियन्त्रणमा लिई छाडेको छ । प्रहरीका अनुसार सदरमुकाम खलंगामा फोटो स्टुडियो सञ्चालन गर्दै आएका ती फोटोग्राफरले दीपकको फोटो खिची तस्बिरको टाउको नेपाली सेनाको पोसाकमा जोडेका थिए । दीपकको बयानका आधारमा फोटोग्राफरलाई सोधपुछपछि छाडिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी इन्स्पेक्टर चित्र गुरुङले जानकारी दिए । तर, फोटोग्राफरले कुन प्रयोजनका लागि फोटो एनिमेसन गर्न लगाइएको भन्ने आफूलाई जानकारी नभएको बताउँदै ‘मैले जानीजानी यस्तो काम गरेको होइन’ भनेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया