कालीगण्डकी बन्दमा लोडसेडिङ नबढ्ने

काठमाडौं, १८ फागुन । शुक्रबारदेखि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन मर्मतका लागि १० दिन बन्द गरिने भए पनि लोडसेडिङ नबढ्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो जलाशययुक्त आयोजनाबाट पूर्ण विद्युत् उत्पादन गरेर लोडसेडिङ नबढाएर यथावत राखिने प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले जानकारी दिए । ‘कालीगण्डकी जलविद्युत्को उत्पादन बन्द भए पनि लोडसेडिङ बढ्दैन, कुलेखानी जलाशय पूर्णरूपमा सञ्चालन गर्न लागेका छौँ ।’ उनले भने, ‘सकेसम्म १० दिन नलगाई मर्मत सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।’प्राधिकरणका अनुसार, हाल कालीगण्डकी जलविद्युत् आयोजनाबाट करिब ५३ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । एक सय ४४ मेगावाट क्षमताको कालीगण्डकी नेपालको सबैभन्दा ठूलो आयोजना हो । शुक्रबार साँझदेखि मर्मतका लागि आयोजनाको उत्पादन बन्द गरिने प्राधिकरणले जनाएको छ ।
प्रवेशिका परीक्षा (एसएलसी)को बेलामा लोडसेडिङ बढाउने गरी आयोजनाको मर्मत सुरु गर्नु गलत भन्दै विरोध जनाए पनि प्राधिकरणले भने उपर्युक्त समय भएकोले बाध्य भई मर्मत गर्नुपरेको जनाएको छ । ‘पानीको बहाव बढेर एसएलसीपछि मर्मत असम्भव छ भने यसभन्दा अघि पनि पानीको बहाव रहेकोले गर्न नसक्ने अवस्था थियो ।’–क्षेत्रीले भने–‘उपर्युक्त समय भएकोले मर्मत सुरु गरेका हौँ ।’ आयोजनाको मुख्य युनिट सुरुङबाट टर्वाइनमा पानी लैजाने पाइपको भल्वमा समस्या आएकोले मर्मत गर्न लागिएको हो । यो मर्मतपछि प्राधिकरणले टर्वाइन मर्मत गर्ने जनाएको छ । मुख्य भल्व मर्मत गर्न उत्पादन बन्द गर्नुपर्ने बाध्यता भएकोले बाध्य भई उत्पादन बन्द गरेर मर्मत सुरु गरिएको प्राधिकरणले जनाएको छ । मर्मतका लागि करिब दुई सय कर्मचारी खटाइनेछन् । सात सय मेगावाट विद्युत् उत्पादन क्षमता भए पनि अहिले सुख्खा याममा भारतबाट आयातित एक सय ४५ मेगावाटसहित चार सय ५० मेगावाट मात्र उत्पादन छ । करिब एक हजार मेगावाट विद्युत् माग रहेको प्राधिकरणमा पाँच सय ५० मेगावाट विद्युत् उत्पादन कम भएपछि प्राधिकरणले दैनिक १२ घन्टा लोडसेडिङ गर्दै आएको छ ।
लोडसेडिङ घटाउन माग
प्रवेशिका परीक्षा (एसएलसी) को बेलामा लोडसेडिङ घटाउन अभिभावकहरूले माग गरेका छन् । एसएलसीको बेलामा बेलुकी समयलाई लोडसेडिङमुक्त गराउनका लागि उनीहरूले माग गरेका हुन् । अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले एसएलसीको समयमा लोडसेडिङ गर्न नहुने बताए । ‘विगतमा पनि प्राधिकरणले एसएलसीको समयमा बेलुकीपख लोडसेडिङ घटाएको र यस वर्ष पनि नगर्न प्राधिकरणलाई अनुरोध गरिएको छ ।’– उनले भने– ‘सरकारले एसएलसीको बेला विशेष महत्त्व दिएर अन्य क्षेत्रमा लोडसेडिङ बढाएर भए पनि घटाउनुपर्छ भन्ने सबै अभिभावकहरूको माग छ ।’
अभिभावकहरूले कालीगण्डकी आयोजना बन्द गरेर झन् सरकारले लोडसेडिङ बढाउन खोजेको बताएका छन् । चितवनका अभिभावक दिनेश अधिकारीले एसएलसी आउने बेलामा झन् लोडसेडिङ बढाउन खोजेर धेरै विद्यार्थीलाई अप्ठेरोमा पारेको बताए । ‘झन् लोडसेडिङ घटाउनुपर्नेमा कालीगण्डकीको उत्पादन बन्द गरेर बढाउने प्रयास भएको छ, लोडसेडिङ घटाउन माग गर्दछौँ ।’, उनले भने । प्राधिकरणले भने कुलेखानी जलाशय पूर्णरूपमा सञ्चालन गरेर भए पनि अहिलेको अवस्थामा लोडसेडिङ यथावत राख्ने प्राधिकरणले जनाएको छ । भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले लोडसेडिङ नबढाउने र एसएलसीको समयमा लोडसेडिङ घटाउनेबारे प्राधिकरणले कालीगण्डकी मर्मत सकेपछि निर्णय गर्ने बताए ।

प्रतिक्रिया