एमाले कार्यालयमा देउवालाई सम्मान

Sher-bahadur-Deuba-umlमहेन्द्रनगर, १८ फागुन । एउटा पार्टीको नेता अर्को प्रतिस्पर्धी पार्टीबाट सम्मानित हुनु नेपालमा नौलो प्रयोग हो । कन्चनपुरमा यस्तै भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार एमालेले सम्मान गर्‍यो ।

जिल्ला विकास समिति कन्चनपुरको जिल्ला परिषद् उद्घाटन गर्न महेन्द्रनगर आएका देउवालाई एमाले कन्चनपुरले सम्मानित गरेको हो । महेन्द्रनगर आउँदा कभर्डहलछेउमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा छिर्ने देउवा यसपालि आºनो पार्टी कार्यालय छिरेनन् । बिहीबार बिहान साढे नौ बजे उनी एमाले कन्चनपुरको पार्टी कार्यालय छिरे ।
एमालेका पदाधिकारी पनि हातमा फूलका माला लिएर देउवाको स्वागतका लागि लामबद्ध थिए । एमाले अध्यक्ष ईश्वरीप्रसाद खरेलको हातबाट माला लगाएर स्वागत ग्रहण गर्दै पार्टी कार्यालयतिर लम्किँदै गरेका देउवालाई एमाले अञ्चल कमिटी सदस्य राजेन्द्र सिंह रावलले मीठो शब्दमा स्वागत गरे ।
‘स्वागत छ, यहाँलाई एमालेमा प्रवेश गरेकोमा’ नेता रावलको यो ठट्यौलीमा देउवा मुस्कुराए, अनि हाँसे । अन्य उपस्थित सहभागीको त हाँसोको फोहोरा नै छुट्यो । एकछिन त लाग्यो ए ! कांग्रेसका वरिष्ठ नेता एमालेमा प्रवेश गरेका रहेछन् है † तर देउवा एमालेमा प्रवेश गरेको नभई एमालेको कार्यालयमा मात्रै प्रवेश गरेका थिए ।
विपक्षी पार्टीका नेतालाई यसरी सम्मान गरिएको कन्चनपुरमा पहिलोपटक हो । ‘फुटको राजनीतिभन्दा जुटको राजनीति गर्नुपर्छ भन्ने मान्यताका साथ देउवालाई सम्मान गरिएको हो,’ एमाले कन्चनपुर अध्यक्ष ईश्वरीप्रसाद खरेलले भने, ‘फेरि देउवा सुदूरपश्चिमवासी पनि हुन् ।’ उनको योगदानलाई कदर गर्दै सम्मान गरिएको खरेलले बताए ।
पार्टी कार्यालय हलभित्र आयोजना गरिएको कार्यक्रममा अध्यक्ष खरेलले सुदूरपश्चिम क्षेत्रको र विशेष गरी कन्चनपुरका समस्याबारे अवगत गराएका थिए । उनले कन्चनपुरको ठूलो समस्या नदी नियन्त्रण, महाकाली लोकमार्ग (कन्चनपुर–दार्चुला सडक), सुदूरपश्चिम विश्वविद्यालय, चुरे विनाश र भूमिहीनलगायत समस्यालाई एकसाथ उठान र निवारण गर्न आग्रह गरे ।
सुदूरपश्चिमको विकासका लागि सबैले जुट्नुपर्ने आवश्यकता रहेको खरेलले देउवालाई सुनाए । कार्यक्रममा कांग्रेस वरिष्ठ नेता देउवाले केन्द्रमा जे भए पनि जिल्लामा दलहरूको सहयात्रा अविष्मरणीय रहेको बताए । ‘कन्चनपुरमा सबै दल मिलेर अगाडि बढेको देखेर खुसी लागेको छ,’ उनले भने, ‘आगामी दिनमा पनि एकमत भएर जानुहुनेछ भन्ने विश्वास छ ।’
विकासका लागि एकमत भएर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै उनले भने, ‘यसै क्षेत्रले नै मलाई प्रधानमन्त्री बनाएको हो । अब मेरो काम देश विकास र आºनो जन्मथलोको विकास गर्नुबाहेक अरू के छ र ?’ ०४६ को जनआन्दोलनदेखि ०६२/६३ सम्म एमालेसँग कांग्रेसले सहकार्य गर्दै आएको उल्लेख गर्दै उनले भने, ‘अहिले पनि यो सरकारविरुद्ध हामी एमालेसँग एकबद्ध भएर हिँडेका छौँ ।’ कार्यक्रममा कांग्रेस नेता तथा पूर्व श्रम राज्यमन्त्री रमेश लेखक, पूर्वशिक्षा राज्यमन्त्री एनपी सावद र कन्चनपुर सभापति बहादुर थापालगायत उपस्थित थिए ।

प्रतिक्रिया