बाँदरमुढे घटनालाई युद्धकालको दुर्घटना सम्झनोस्

Puspakamal-Dahal-madiचितवन, १८ फागुन । माडी बाँदरमुढे घटनाको सात वर्षपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार पहिलोपटक माडी पुगे । ‘माडीको विकास हाम्रो अभियान कृषि र पर्यटन हाम्रो पहिचान’ भन्ने नाराका साथ बिहीबार माडीमा सुरु प्रथम माडी महोत्सवको उद्घाटनका लागि अध्यक्ष दाहाल विशेष सुरक्षा र दलबलसहित माडी पुगेका हुन् ।

विगतमा धेरैपटक राहतसहित माडी जाने बताए पनि दाहाल त्यहाँ पुग्न सकेका थिएनन् । बिहीबार भने सरकारी ढुकुटीको ६० लाख राहत प्याकेज लिएर महोत्सवका लागि उनले माडीमा पाइला टेकेका हुन् । दाहाल पीडितका लागि राहत प्याकेज लिएर गए पनि बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीसहित दुई जनालाई बिहीबार बिहान घरबाटै प्रहरीले पक्राउ गरेको थियो । दाहालले बोलेका कुरा पूरा नगरेको भन्दै पीडितले विरोध गर्ने थाहा पाएपछि दुई जनालाई पक्राउ गरिएको पीडित परिवारले सौर्यलाई जानकारी दिए ।
०६२ जेठमा बाँदरमुढेमा सर्वसाधारण चढेको बस विस्फोट हँुदा ३७ जनाको ज्यान जानुका साथै ७० भन्दा बढी घाइते भएका थिए ।
कांग्रेस र एमाले नेता अनुपस्थित
माडी महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेल आउने प्रचार भए पनि उनीहरू अनुपस्थित रहे । दाहाललाई प्रमुख अतिथि बनाउने निश्चित भएपछि खनाल र पौडेल महोत्सव उद्घाटनमा अनुपस्थित रहेका हुन् । कसैलाई पनि प्रमुख अतिथि नबनाउने भनिए पनि ‘एमाओवादी हठ’का कारण दाहाल प्रमुख अतिथि बन्ने भएपछि अन्य दलले विरोध जनाए । एमाओवादीबाहेक पार्टीका जिल्ला नेताहरूले माडी महोत्सवको उद्घाटन कार्यक्रम बहिष्कार नै गरेका थिए । कांग्रेस–एमालेको जिल्ला नेतृत्वले महोत्सव उद्घाटनसत्र बहिष्कार गरे पनि अन्य कार्यक्रममा सहभागिता रहने कांग्रेस चितवनका सचिव जितनारायणले बताए ।
सात दिनसम्म चल्ने महोत्सवमा कृषि प्रदर्शनी तथा पर्यटनसम्बन्धी प्रस्तुति, विभिन्न सांस्कृतिक प्रस्तुति, हेलिकोप्टरबाट माडी उपत्यकाको दृश्यावलोकनको व्यवस्था, हात्ती सयर, डुंगा सयर, बालउद्यानलगायत रहनुका साथै र माडीको विकासबारे विचारगोष्ठी गरिने महोसत्वका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए । महोत्सवमा ३ करोडको आर्थिक कारोबार हुने र करिब ८० हजारले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ ।
माडी घटना हुँदा रोल्पामा थिएँ
यसैबीच, एमाओवादी अध्यक्ष दाहालले माडी बाँदरमुढेमा भएको नरसंहारलाई युद्धकालको दुर्घटना सम्झन माडीवासीलाई आग्रह गरेका छन् । माडी बाँदरमुढे घटना पार्टीको निर्णय र योजनाअनुरूप नभएको दाबी गर्दै अध्यक्ष दाहालले पार्टीको तर्फबाट क्षमायाचनासमेत गरे ।
‘माडी घटना हँुदा म रोल्पाको डाँडोबाट झर्न लागेको थिएँ, घटना घट्यो भन्नेबित्तिकै गल्ती भयो भनेर सबैलाई भनेको थिएँ,’ दाहालले भने, ‘निहत्था र निर्दोष नागरिक मारिनु युद्धको नियमविपरीत हो ।’
उनले उक्त घटनाका पीडित परिवारसँग क्षमा माग्दै पीडामा मलम लगाउन ६० लाखको राहत प्याकेज लिएर आएको बताए । माडी आउने इच्छा रहे पनि राहत नलिई नआउने अठोट गरेकाले अन्य राजनीतिक दल र सबै मन्त्रालयसँग छलफल गरी ६० लाखको रकम निकासा गरिएको उनले जानकारी दिए । उक्त रकम पीडितहरू बसेर के–कति शीर्षकमा खर्च गर्ने भन्ने आपसी सहमति गर्नसक्ने उनले बताए । पीडितका लागि अन्य रकम जे–जति आएको भए पनि ६० लाख भने नयाँ प्याकेज भएको उल्लेख गर्दै उनले भने, ‘मैले यसअघि पनि सरकारमा रहँदा बाँदरमुढे घटनाका पीडितलाई राहत घोषणा गरेको थिएँ तर त्यो राहत के–कति आयो, तपार्इंहरूलाई नै थाहा छ । ’
सबै नेता महोत्सवमा आउने थाहा पाएपछि अन्तिममा आफूले निर्णय गरेको स्पष्ट पार्दै उनले अन्य नेताको अनुपस्थितिबारे असन्तुष्टि जनाए । माडीका बासिन्दासँग एकमुष्ट रूपमा अहिले भएको सहमति र माडीलाई सहयोगको प्रतिबद्धता जनाउने सोच बनाएकै कारण सबै दलका शीर्ष नेता आउने भनेपछि आफू पनि राजी बनेको उनको भनाइ थियो । ‘उहाँहरू किन आउनुभएन, त्यो थाहा छैन म अहिले (बिहीबार) गएर दलहरूको बैठकमा यस कुरालाई झलनाथजी, सुशीलजी र किरणजीसँग राख्नेछु,’ उनको भनाइ थियो, ‘अनि तपार्इंहरूले टिभी रेडियोबाट थाहा पाइहाल्नुहुनेछ किन नआउनुभएको भन्ने कुरा ।’ महोत्सव उद्घाटन गर्न एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेल पनि आउने भनिएको थियो । नयाँ माडी निर्माण गर्न सबै दल जुट्नुपर्ने उल्लेख गर्दै उनले माडीको समग्र विकासमा आºनो पार्टीले पहल गर्ने प्रतिबद्धता जाहेर गरे ।

प्रतिक्रिया