मिसमंगोल हेर्न विदेशबाट टोली आउने

Miss-Mangolकाठमाडौं : मिस मंगोल नेपाल २०१३ को अन्तिम प्रतिस्पर्धाका लागि विदेशका विभिन्न मुलुकबाट अवलोकन टोली आउने भएको छ । यहाँ आयोजना हँदै आएको यस प्रतियोगिताको अवधारणा अनुसार मिस वल्र्ड मंगोलको वातावरण बनाउन ती टोली नेपाल आउन लागेको आयोजक एक्सन इन्टरटेनमेन्टले जनाएको छ । टोलीमा सांसद, संस्कृतिविद एवं पत्रकार सम्मिलित रहनेछन् ।
भारत, मंगोलिया र अफगानिस्तानबाट टोली आउने पक्का भइसकेको र थाइल्यान्ड, कोरियालगायतका केही मुलुकबाट पनि टोली आउने सम्भावना रहेको आयोजक संस्थाकी प्रबन्ध निर्देशक चन्दा घिसिङले बताइन् । गतवर्ष भारत र मंगोलियाका प्रतिनिधि यो प्रतियोगिता अवलोकन गर्न आएका थिए । जसमा नेपाल तथा भारतका लागि मंगोलियाका पूर्वराजदुत ओइडोभ नाम्दावा र भारतका सांसद साम्सुमा खुनगुर विश्व मुथियारी थिए ।
पूर्वराजदुत नाम्दावा वल्र्ड सेन्टरफर मंगोल ओरिजिन पिपल्सका प्रमुख पनि हुन् । विश्वमै पहिलोपटक यो शीर्षकको प्रतियोगिता नेपालमा आयोजना गरिएकोले विश्वभरका मंगोल समुदायको ध्यान खिच्न थालेको आयोजकको भनाइ छ । विभिन्न देशमा मिस मंगोलको अवधारण विकास भइसकेकोले मिस वल्र्ड मंगोलको माहोल तयार गर्न केही वर्ष लागे पनि पहिलो प्रतियोगिता नेपालमै आयोजना हुने सम्भावना रहेको आयोजकले जानकारी गराएको छ । (सौस)

प्रतिक्रिया