निरंकुशता नजन्मियोस् : कांग्रेस नेता

NC flag1काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिँदा सतर्क रहन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । मंगलबार पार्टी सभापति सुशील कोइराला निवास महाराजगन्जमा बसेको बैठकमा केन्द्रीय सदस्यहरूले रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिँदा अर्को निरंकुशता जन्मिने खतरा औँल्याए ।

पदाधिकारी र राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा पार्टीका शीर्ष नेताहरूले रेग्मी चुनावी सरकारको नेतृत्व लिन तयार भएपछिका अवस्थाका बारेमा जानकारी गराएको केन्द्रीय सदस्य डा. रामशरण महतले बताए । ‘सभापति, वरिष्ठ नेता देउवा र उप–सभापति रामचन्द्र पौडेलले अहिलेसम्मका राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नुभयो,’ महतले सौर्यसँग भने, ‘बैठकमा प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृन्व दिँदा आइपर्नसक्ने अप्ठ्याराबारे पनि छलफल भयो ।’ बैठकमा रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउन हुने र नहुने पक्षमा बराबरीजस्तै सुझाव आए पनि रेग्मी हुँदै/हुँदैन भनेर कसैले पनि नभनेको उनले बताए ।
‘कतिपय सदस्यले प्रधानन्यायाधीशले राजीनामा दिएपछि मात्रै सरकार गठन गरी अघि बढ्नुपर्छ भन्ने आवाज उठाउनुभएको छ,’ महतले भने, ‘तर, उनको नेतृत्व मानी चुनावमा जान तयार भइसकेपछि सतर्क हुँदै त्यस्तो सरकार निरंकुश नहोस् भन्नेतर्फ सजग हुन सदस्यहरूले ध्यानाकर्षण गराउनुभएको छ ।’
कांग्रेसमा शेखर कोइराला, सुजाता कोइराला, गगन थापासहितका प्रभावशाली नेताहरू रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिन नहुने पक्षमा छन् । करिब तीन दर्जन सदस्य उपस्थित रहेको छलफलमा राजनीतिक निकासको प्रक्रियासहितका विषयमा छलफल नसकिएकाले बुधबार पुन: छलफल हुने महतले जानकारी दिए ।

प्रतिक्रिया