नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्दै

काठमाडौं, १६ फागुन । सरकारले नेपालमा अपराध गरी भारतमा लुक्दै आएका भारतीय नागरिकलाई नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि भारत सरकारसित सहयोगको आग्रह गर्ने भएको छ । सरकारले आगामी १ र २ चैतमा हुने नेपाल भारतबीच गृहसचिवस्तरीय बैठकमा यस्तो आग्रह गर्ने भएको हो ।

खुला सीमाका कारण आपराधिक मानसिकताका भारतीय नागरिकहरू सजिलै नेपाल प्रवेश गरी हत्या, अपहरण, लुटपाट गरेर भारतमै लुक्ने गरेका छन् । उनीहरूलाई कारबाही गर्न कठिन भएकाले सरकारले सहयोगका लागि विशेष आग्रह गर्ने गृहमन्त्रालयका एक उपसचिवले जानकारी दिए ।
बैठकमा सरकारले अन्तरसीमा तथा आसपासका क्षेत्रमा अपराधका घटना प्रशस्तै घटेकाले त्यसलाई नियन्त्रणमा लिने विषयमा छलफल गरिनेछ । सीमा क्षेत्रमा भारतीय नागरिक तथा भारतीय प्रहरीले नेपाली नागरिकलाई दिने गरेको सास्ती पनि नेपाल सरकारका तर्फबाट महत्त्वपूर्ण एजेन्डाका रूपमा उठाइनेछ । बैठकमा यसअघि गरिएका सुरक्षासम्बन्धी सम्झौता कार्यान्वयनका विषयमा पनि गम्भीर रूपमा छलफल गर्ने तयारी मन्त्रालयले गरेको छ ।
मन्त्रालयका अनुसार सुरक्षा सम्बन्धी सम्झौता नेपाल सरकारका तर्फबाट पूर्णरूपमा कार्यान्वयन भए पनि भारत सरकारका पक्षबाट कार्यान्वयन हुन सकेको छैन । बैठकका बारेमा जानकारी दिँदै गृहसचिव नवीनकुमार घिमिरेले भने, ‘बैठकमा शान्तिसुरक्षा व्यवस्थापन, आपराधिक समूहका गतिविधिको निगरानीसम्बन्धी सूचना आदानप्रदानलगात विषयमा गम्भीर छलफल हुनेछ ।’
सचिव घिमिरेका अनुसार बैठकमा भाग लिन सत्र सदस्यीय टोलीको प्रतिनिधित्व गर्दै भारतका केन्द्रीय गृहसचिव आरके सिंह यही ३० फागुनमा राजधानी आउने कार्यक्रम तय भइसकेको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, परराष्ट्र, गृह मन्त्रालयका वरिष्ठ अधिकृतका साथै प्रहरी महानिरीक्षकहरूको सहभागिता हुने छ । नेपाल भारत गृह सचिवस्तरीय बैठक गत वर्ष भारतको नयाँदिल्लीमा बसेको थियो ।

प्रतिक्रिया