“ट्यापे” र मुन्द्रे अब प्रहरी खोरमा

काठमाडौं, १५ फागुन । राजधानीका टोलमा ‘ट्यापे–मुन्द्रे’ बढ्न थालेको भन्दै प्रहरीले ‘सफाइ अभियान’ सुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबारबाट सुरु गरेको अभियानअन्तर्गत एकैपटक सात सय ११ जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने अधिकांश किशोर उमेर समूहका छन् । परिसरले मातहतका प्रहरी वृत्त र प्रभागलाई सर्कुलर नै जारी गरी टोलमा अस्वाभाविक हुलियामा रहेकाहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैसँग प्रारम्भिक अनुसन्धान भइरहेको परिसरका प्रवक्ता चक्रबहादुर सिंहले बताए ।
उनले भने, ‘राजधानीका टोल तथा गल्लीमा अस्वाभाविक हुलियामा धेरै किशोर रल्लिएका देखिए, उनीहरू सबैलाई पक्राउ गरिएको छ । प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई अभिभावकको जिम्मामा छाडिनेछ ।’ सिंहका अनुसार पक्राउ परेका सबै जनालाई एक रात अनिवार्य रूपमा हिरासतमा राखिनेछ ।
अभियानअन्तर्गत प्रहरी वृत्त महाराजगन्जबाट ६५, बौद्धबाट ७१, बानेश्वरबाट ८३, कालिमाटीबाट ९३ र बलाजुबाट १०५ लाई पक्राउ गरेको छ । त्यस्तै, परिसर मातहतका १३ वटा प्रभागबाट मात्रै दुई सय २५ जनाई पक्राउ गरिएको छ । पक्राउ गरिएकामध्ये तीन महिला छन् ।
राजधानीमा पछिल्ला दिनमा भएका चोरी, डकैत, लुटपाट मात्र नभई हत्यामा समेत किशोर उमेर समूहकाहरू नै संलग्न भएको भेटिएपछि प्रहरीले यो अभियान सुरु गरेको हो । डिएसपी सिंहले भने, ‘चोरी–डकैत तथा लुटपाटका घटना मात्रै नभई हत्यामा समेत यही उमेर समूहकाहरू संलग्न भएको देखियो, शनिबारको घटनाले यसलाई पुष्टि गर्छ, यस्ता घटना नियन्त्रण गर्न यो अभियान सुरु गरिएको हो ।’
पक्राउ परेकामध्ये गाँजा, चरेसलगायत लागुऔषध दुव्र्यसनीमा फसेकाहरू रहेका प्रहरीले जनाएको छ । सडकका आवारा तथा गुन्डाहरूलाई विशेष निगरानी गरिएको पनि प्रहरीले जानकारी दिएको छ । डिएसपी सिंहले भने, ‘समाजमा अशान्ति मच्चाउने, गँजेडी, आवारा, गुन्डाहरूलाई विशेष निगरानीमा राखिएको छ, साथै अस्वाभाविक रूपमा जुल्फी पाल्ने, महिला जिस्क्याउने, चोक–चोकमा दिनभर बरालिएर बस्नेहरूलाई पनि निगरानीमा राखिएको छ, पहिलो अभियानअन्तर्गत पनि उनीहरू नै धेरै समातिएका छन्, अब हामीले उनीहरू सबैको रेकर्ड बनाउँछौँ ।’
डिएसपी सिंहका अनुसार यो अभियान निरन्तर चल्नेछ । टोलका मुन्द्रेहरूलाई तह लगाउने यो अभियान नयाँ भने होइन, यसअघि पनि यस्ता अभियान चलाइने गरिन्थे । डिएसपी सिंहले अभियान नयाँ नभएको स्विकार्दै भने, ‘अभियान नयाँ होइन तर पछिल्ला दिनमा यही उमेर समूहकाहरू नै अपराधमा लागेको पाइयो, हुलिया बिगारेर सडकमा दिनभर रल्लिनेहरूले परिवारमा समेत सधँै दु:ख दिन्छन्, समाजलाई बिगार्ने भनेकै उनीहरू हुन्, यो सधँै हुने समस्या हो, त्यसैले हामीले अयिभान सुरु गरेका हौँ, अब यो निरन्तर चल्नेछ ।’
अभियानअन्तर्गत पक्राउ गरिएकाहरूमाथि अनुसन्धान हुनेछ । शंका लागेकामाथि म्याद थप गरी पुन: अनुसन्धान गरिनेछ र कारबाही प्रक्रिया अघि बढाइनेछ भने अपराधमा संलग्न भएकाहरूलाई छाडिनेछ ।

प्रतिक्रिया