अवैध हतियार बुझाउन ३५ दिने म्याद

GovindaRam-Pariyarरौतहट, १४ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध हतियार संकलन अभियान सुरु गरेको छ । गौरमा आयोजित साप्ताहिक जनचेतनामूलक विषेश कार्यक्रम उद्घाटनसँगै जिल्लालाई अवैध हतियार मुक्त जिल्ला बनाउने प्रयासको सुरुआत प्रहरीले गरेको हो ।

एसपी गोविन्दराम परियारले व्यक्ति विषेशले लुकाएर राखेका, कानुनको अज्ञानताका कारण राखिएका वा अन्य कुनै प्रयोजनले घरसमाजमा राखिएका अवैध हतियार तथा गोलीगट्ठा नजिकका प्रहरी युनिट, जिल्ला प्रहरी कार्यालय वा सशस्त्र प्रहरीका इकाइमा बुझाउन नागरिकसँग अपिल गरे ।
‘कुनै व्यक्ति वा संस्थाले सरकारको अनुमतिविना हातहतियार राखेका छन् भने ३५ दिनभित्र प्रहरीमा जिम्मा लगाउन अनुरोध गरेका छौँ, एसपी परियारले भने, ‘खुला सिमानाका कारण ठूलो मात्रामा हतियार छन् भन्ने जानकारी प्रहरीले पाएको छ ।’ सार्वजनिक सूचनाको बेवास्ता गरी अवैध रूपमा हातहतियार लुकाइछिपाइ राखेको पाइएमा हातहतियार तथा खरखजाना ऐन –०१९ अनुसार कारबाही गर्नेछौँ,’ उनले भने, ‘३५ दिनपछि व्यापकरुपमा प्रहरी परिचालन गरी त्यस्ता हतियारको खोजी तथा खानतलासी अभियान सञ्चालन गर्नेछौँ ।’
जिल्लामा अवैध हतियारको संख्याबारे यकिन तथ्यांक छैन । खुला सिमानाका कारण भारतीय भूमिबाट पनि हतियार पैठारी हुने सदरमुकाममा मात्र ४८ थान अवैध हतियार रहेको सूचना प्रहरीसँग छ । साना र ठूला गरी जिल्लामा थुप्रै हतियार रहेको बताइएको छ । वैवाहिक समारोहमा शान देखाउन बन्दुक पड्काउने चलन बढेका कारण अवैध हतियारको संख्या बढेको हो । १९ जेठ ०६७ मा रौतहटको गरुडामा बैरिया–३ का राजाराम साहको छोरी पुनम साहको विवाहमा बन्दुक पडकाउँदा स्थानीय १४ वर्षीय बालक सुनीलकुमार साहको मृत्यु भएको थियो भने सोही वर्ष असारमा प्रेमपुर गोनाही वडा नम्बर ८ मा उसर महतोको छोरीको विवाहमा गोली चल्दा विवाहको भिडियो खिचिरहेका क्यामरा पर्सन विजयपुर–३ का २० वर्षीय विजय कुशवाहा गम्भीर घाइते भएका थिए । प्रहरीले हतियारको अनुमति लिएकासँग पनि अवैध हतियार रहेको सूचना पाएको छ ।
सिडिओ कार्यालयले हतियार राख्न इजाजत पत्र दिए पनि करिब दुई दर्जन बढी मानिसले ०५२ सालयता त्यस्ता इजाजतपत्र नवीकरण नै गराएका छैनन् । हतियारहरु अहिले कहाँ र कसले प्रयोग गरिरहेका छन् भन्ने सूचना पनि प्रहरीमा छैन् । सिडिओ कार्यालयमा दर्ता रहेको १ सय ४५ थान ठूला हतियारबाहेक अन्य साना हतियारको विषयमा कुनै जानकारी प्रशासनलाई छैन । प्रशासनको तथ्यांकबाहेक ठूलो मात्रामा अवैध हतियार जिल्लामा रहेको पाइएको छ ।
द्वन्द्वकाल र त्यसपछि भूमिगत समूहको बिगबिगीका बेला अवैध हतियार ठूलो मात्रामा भित्रिएको प्रहरीको दाबी छ । पछिल्लोपटक ७ चैत ०६३ मा गौरमा भएको माओवादी हत्याकाण्डका बेला पनि थुप्रै साना हतियार हराएको थियो । मारिएका माओवादी कार्यकर्ताले बोकेका साना बन्दुक तथा गोलीगट्ठा ठूलो मात्रामा केही व्यक्तिले फेला पारेका थिए ।

प्रतिक्रिया