हैदरावादमा विस्फोट, दर्जनौं मारिए

indiaकाठमडौं : भारतको आन्द्रप्रदेशको राजधानी हैदरावादमा शृंखलाबद्ध बम विस्फोटमा परी कम्तीमा एक दर्जनको मृत्यु भएको छ । बिहीबार साँझ हैदरावादको दिलसुख नगरमा भएको विस्फोटमा परी ५० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार विस्फोट दुई ठाउँमा भएको छ । हैदरावादको बस स्ट्यान्ड र फिल्म हलनजिक भएको विस्फोटमा परी घाइते भएकाको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । एजेन्सीका अनुसार हमलाकारीले बमलाई साइकलमा राखेका थिए । सरकारले शृंखलाबद्ध बम विस्फोटलाई आतंककारी हमलाको संज्ञा दिएको बिबिसीमा उल्लेख छ ।
भारत सरकारले विस्फोटमा परी मृत्यु भएको परिवारलाई २ लाख रुपियाँ र घाइतेलाई ५० हजार सहयोगको घोषणा गरेको टाइम्स अफ इन्डियाले लेखेको छ । प्रधानमन्त्री मनमोहन सिंहले हैदरावादमा भएको दुवै विस्फोटलाई नृशंस हमालाको संज्ञा दिँदै कुनै पनि हालतमा हमलाकारी उम्कन नपाउने बताएका छन् । सिंहले हैदरावादवासीलाई शान्त रहन पनि आग्रह गरेको टाइम्स अफ इन्डियाले लेखेको छ ।
केन्द्रीय गृहमन्त्री सशीलकुमार सिन्देले दुवै बम विस्फोट एक सयदेखि एक सय ५० मिटरको दूरीमा भएको पुष्टि गर्दै दोषी उम्कन नपाउने बताएका छन् । उनले हैदरावादको दिलसुख नगरमा भएको दुवै विस्फोटबारे हैदरावादका मुख्यमन्त्री किरणकुमार रेडीसँग जानकारी लिइरहेको र रेडीले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइसकेको जानकारी गराएको कुरा उल्लेख गरेका छन् । ‘दुई विस्फोटमा एउटामा ८ जनाको र अर्कोमा तीन जनाको मृत्यु भएको पाइएको छ,’ गृहमन्त्री सिन्देको भनाइ उद्धृत गर्दै बिबिसीमा लेखिएको छ ।

प्रतिक्रिया