असादविरुद्ध कारबाहीको दबाब

दमास्कस : उत्तरी सिरियामा विद्रोहीहरूले आक्रमण तीव्र बनाएका छन् । अलेप्पो विमानस्थलसहित दुई हवाई अड्डामा उनीहरूले पछिल्लोपटक आक्रमण गरेको जनाइएको छ । यसैबीच संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखले सिरियाली राष्ट्रपति बसार अल–असादविरुद्ध अन्तर्राष्ट्रिय कारबाही गर्नुपर्ने बताएका छन् । सिरियामा शनिबार देशभर भएको हिंसामा ८४ व्यक्तिको मृत्यु भएको थियो । ज्यान गुमाएका मध्ये ३१ सैनिक, ३० विद्रोही र २३ सर्वसाधारण रहेको समाचारमा उल्लेख छ ।
करिब २३ महिनादेखि जारी रहेको हिंसात्मक आन्दोलनमा युद्ध अपराध भएको भन्दै त्यसको छानबिनका लागि विश्व समुदायले आग्रह गरिरहँदा यहाँ दिनहुँ यस्ता भिडन्तहरू जारी छन् । सिरियामा २०११ को मार्च महिनादेखि सुरु भएको उक्त आन्दोलनका क्रममा ७० हजारभन्दा बढी नागरिकले ज्यान गुमाएको मानवअधिकारवादीहरूले हालै जनाएका छन् । उनीहरूका अनुसार आन्दोलनका क्रममा हजाराँै नागरिक घाइते भएका छन् र कैयौँलाई बेपत्ता बनाइएको छ । राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको यस आन्दोलनविरुद्ध यहाँको सरकार डटेर लडेको छ । राजीनामा नदिने र सत्ता पनि नछोड्ने अडान राष्ट्रपति असादको छ । गत हप्ता मात्र सिरियाका विद्रोहीले राष्ट्रपति असादलाई नै वार्ताका लागि आह्वान गरेका छन् । यद्यपि, असादले यसमा चासो देखाएका छैनन् ।

प्रतिक्रिया