न्युयोर्क : पछिल्लो समय लोकप्रिय रहेको सामाजिक सञ्जाल फेसबुक ह्याकरहरूको निसाना बन्न थालेको छ । गत महिना फेसबुकले आफ्नो साइट ह्याक गर्न खोजिएको जनाए पनि यसमा कसको संलग्नता थियो भन्ने बारेमा कुनै प्रमाण जुटेको थिएन । मोबाइलसम्बन्धी एक वेभसाइटबारे आफ्ना कर्मचारीले खोजिगरिरहँदा फेसबुक ह्याक गर्न लागिएको थाहा भएको जनाइएको छ ।
संसारका १० करोडभन्दा बढी व्यक्ति फेसबुक प्रयोगकर्ता छन् । आफ्ना कर्मचारीले पत्तो पाएपछि यसलाई रोक्न सबै उपाय लगाइएको पनि फेसबुकले जनाएको छ । गत महिनानै फेसबुकले आफूलाई सुरक्षित गर्न नयाँ प्रविधि पनि सुरु गरेको थियो । यो प्रयासले आफ्ना प्रयोगकर्ताका कुनै पनि डाटामा प्रभाव पारेको जानकारी पनि नपाएको फेसबुकले जनाएको छ ।
‘अहिलेसम्म यो समस्या देखिएको छैन,’ फेसबुकले जनाएको छ ।
फेसबुकले अन्य कम्पनीसँग पनि सल्लाह गरेर यस खाले समस्याबाट मुक्ति पाउन सबैले ध्यान दिनुपर्ने जनाएको छ । गत महिना मात्र २ लाख ५० हजार ट्विटर प्रयोगकर्ताको आइडी ह्याक भएको थियो । न्युयोर्क टाइम्स, वासिंगटन पोस्ट र वाल स्ट्रिटले चिनियाँहरू माथि यसको आरोप लगाए पनि चिनले यसको खण्डन गरेको छ ।
ट्विटर ह्याक पछि इन्टरनेट सेक्युरिटी विशेषज्ञ ग्राहमकुल्नीले ट्विटर ह्याक पछि प्रयोगकर्ताले इमेल आइडी पनि प्रभावित हुन सक्ने चेतावनी दिएका थिए । उनले ट्विटरका लागि मात्र छुट्टै इमेल खोल्न उपयुक्त हुने सुझाव दिएका थिए ।
न्युयोर्क टाइम्सले पहिलो पटक चिनियाँ भूमिको आशंका गरेपछि चीनका विदेश मन्त्रालयले यसको खण्डन गरेको थियो । चिनियाँ सेनाले प्रयोग गर्ने इन्टरनेट सुरक्षासँग सम्बन्धी व्यक्तिको संलग्नता भएको र यसमा चिनयाँ सरकारकै चासो रहेको दाबी वर्षको सुरुआतमै न्युयोर्क टाइम्स ह्याक भएपछि अमेरिकी सञ्चारमाध्यमले गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया