सुरुङ निर्माणको टेन्डर फेरि खुलाइँदै

सुर्खेत, २ फागुन । भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि दोस्रोपटक टेन्डर आह्वानको तयारी भएको छ ।

एक वर्षअघि पहिलो चरणमा खुलाइएको टेन्डर कम्पनीहरूले आयोजनाको अनुमानित लागतभन्दा २० प्रतिशत बढीको प्रस्ताव पेस गरेपछि रद्द गरिएको थियो । पहिलो चरणमा सिभिजिसी चाइना, सिनो हाइड्रो चाइना र सिटी एस कोस्टल इन्डिया टेन्डरमा सहभागी भएका थिए । तीनवटै कम्पनीले आयोजनाको अनुमानित लागतभन्दा २० प्रतिशत बढी पेस गरेकाले टेन्डर रद्द गरिएको उल्लेख गर्दै आयोजना प्रमुख माधव बेलवासेले फेरि टेन्डर आह्वान प्रक्रिया अघि बढाइएको जानकारी दिए । काम निरन्तर सुचारु भए आयोजना निर्माण आर्थिक वर्ष ०७५/७६ मा पूरा हुने बेल्वासेले बताए ।
आयोजना सम्पन्न गर्न सरकारले साढे १६ अर्ब रुपियाँको अनुमानित लागत तयार गरेको छ । विश्वकै सबैभन्दा लामो सुरुङ बनाई विधुत र सिँचाइ आयोजना निर्माण गर्न लागिएकाले उक्त आयोजना बहुआयामिक हुने सरकारी अधिकारी बताउँछन् । सुर्खेतको मैनतडाबाट भेरी नदीको पानी सुर्खेत र बर्दियाको सिमानामा पर्ने बबई नदीमा खसालेर विद्युत् उत्पादन तथा बाँके र बर्दियाको ६० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित आयोजना निर्माण थालिएको हो । आयोजनाबाट ४८ मेघावाट विद्युत् उत्पादन हुने जनाइएको छ ।

प्रतिक्रिया