अमेरिकाको नक्कल गर्दै इरान

तेहरान: अमेरिकी मानवरहित विमान‘ड्रोन’को प्रविधीकै नक्कल गरी इरानले ड्रोन निर्माण गरिरहेको समाचार सार्वजनिक भएको छ । गत डिसेम्बरमा इरानी सेनाले एक अमेरिकी ड्रोन नियन्त्रणमा लिएपछि त्यस्तै ड्रोन निर्माणमा लागिपरेको समाचारमा जनाइएको छ । इरानी सञ्चारमाध्यमका अनुसार ड्रोन निर्माणमा इरानले सफलता हासिल गरिसकेको छ । चाँडै ठूलो मात्रामा यस्ता ड्रोन निर्माणमा इरान लागिपर्ने बताइएको छ । गत डिसेम्बरमा एक अमेरिकी ड्रोन नियन्त्रणमा लिएपछि इरानले ड्रोन निर्माण कार्य आरम्भ गरेको थियो ।
पारमाणविक कार्यक्रम जारी राखेको भन्दै इरानविरुद्ध अमेरिकालगायत पश्चिमी राष्ट्रले विभिन्न प्रतिबन्ध लगाइरहेका बेला इरानी वायु क्षेत्रमा अनाधिकृत रूपले प्रवेश गरेको अमेरिकी ड्रोन कब्जामा लिएको थियो । इरानको पारमाणविक कार्यक्रमबारे सूचना संकलन गर्न अमेरिकाले इरानी आकाशमा ड्रोन परिचालन गर्ने गरेको आरोप इरानी सञ्चारमाध्यमले लगाउने गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया