६ आयोजनाको अनुमतिपत्र खारेज

काठमाडौं, २९ माघ । ऊर्जा मन्त्रालयले एक हप्ताभित्र एक सय ४० मेगावाटका जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज गरेको छ । १४०.६८ मेगावाट बराबरका ६ आयोजनाको विद्युत् अनुमतिपत्र खारेज गरिएको विद्युत् विकास विभागका वरिष्ठ इन्जिनियर एवं सूचना अधिकारी गोकर्णराज पन्तले जानकारी दिए ।

विभागले तोकेको शुल्क तिरेर अनुमतिपत्र नवीकरण नगरेको र मागेको विवरण नदिएको भन्दै ती जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गरेको हो । विभागका अनुसार दिनबन्धु अग्रवाल प्रवद्र्धक रहेको ६१.२ मेगावाटको माथिल्लो म्याग्दी, युनाइटेड हाइड्रो पावर कम्पनी प्रवद्र्धक रहेको ५.९८ मेगावाटको माथिल्लो सिवान खोला, सनराइज हाइड्रो पावर प्रालि प्रवद्र्धक रहेको ३२ मेगावाटको म्याग्दी खोला र पायनियर हाइड्रो प्रालि प्रवद्र्धक रहेको ४.५ मेगावाटको माथिल्लो बडीगाड कोल्टी जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज गरिएको छ । त्यसैगरी त्रिपुरा इनर्जी प्रालि प्रवद्र्धक रहेको ५ मेगावाटको माथिल्लो नौगढ तथा हाइड्रो भिजन कम्पनी प्रवद्र्धक रहेको ३२ मेगावाटको छत्तीसगढ जलविद्युत् आयोजनाका अनुमतिपत्र पनि खारेजीमा परेको छ ।
ऊर्जा सचिव हरिराम कोइरालाले ती लाइसेन्स खारेज गर्ने निर्णय गरेका हुन् । माघ पहिलो सातायता मात्र २० वटा आयोजनाका करिब ७ सय ५० मेगावाट बराबरका आयोजनाको लाइसेन्स खारेज भइसकेको छ । विभागमा महानिर्देशकका रूपमा अनुपकुमार उपाध्याय आएपछि अनुमतिपत्र ओगटेर बसेका तथा विभागले माग गरेका प्रतिवेदन नबुझाउने जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न थालिएको हो ।
बढेको शुल्क तिरेर र समयममै विवरण बुझाएर नवीकरण गर्नका लागि पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि अटेर नगरेकोले लाइसेन्स खारेज गरिएको विभागले जनाएको छ । निजी क्षेत्रका प्रवद्र्धकले झोला खोलामा परेको र सरकारले खोला झोलामा राखेर ओगटेको विवाद चलिरहेको बेला विभागले लाइसेन्स खारेजीलाई तीव्रता दिएको हो । विभागले आयोजना निर्माणका लागि आवश्यक पूर्वतयारी नगरी अनुमतिपत्र मात्र ओगटेर बसेका प्रवद्र्धक विभागको यो कदमछि हच्चिएका छन् । ‘पहिलाभन्दा अहिले नियमअनुसार काम नगर्ने जलविद्युत् आयोजनाका अनुमतिपत्र भटाभट खारेज हुन थालेका छन्, यसले वास्तविक प्रवद्र्धकलाई सजिलो पार्छ भने झोलामा खोला ओगट्नेलाई निरुत्साहित बनाउँछ,’ विभागका एक अधिकारीले भने ।
दुई कर्मचारी निलम्बित
नेपाल विद्युत् प्राधिकरणले विद्युत् अनियमितता गरेको आरोपमा दुई कर्मचारीलाई निलम्बन गरेको छ । प्राधिकरण ग्राहक तथा वितरण शाखा पूर्वअन्तर्गतको कुलेश्वर शाखा प्रमुख श्याम यादव र सहायक प्रबन्धक वीरेन्द्रकुमार झालाई निलम्बन गरिएको हो ।
प्राधिकरण सञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा रहेको समितिले अनियमितता गरेको ठहर गर्दै निलम्बन गर्न सिफारिस गरेपछि प्राधिकरणले उनीहरूलाई सात दिने निलम्बन गरिएको हो ।
सोल्टिमोडको ग्रान्ड होटेल सिटिपिटी बन्दी गर्ने क्रममा अनियमितता गरेको आरोप उनीहरूमाथि लागेको छ । थप अनुसन्धानका लागि भन्दै सातदिने निलम्बन गरिएको प्राधिकरणले जनाएको छ । बोर्डको निर्देशनपछि कार्यकारी निर्देशक रामेश्वर यादवले ग्राहक तथा वितरण शाखापूर्वका महाप्रबन्धक चिरञ्जीवी शर्मालाई निर्देशन दिएपछि दुवै जनालाई शुक्रबार निलम्बनपत्र थमाइएको थियो ।

प्रतिक्रिया