सम्झेर लेख्न नेपाली विद्यार्थी अब्बल

काठमाडौं, २८ माघ । नेपाली विद्यार्थीको शैक्षिक गुणस्तर अन्तर्राष्ट्रियस्तरको रहेको पाइएको छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालै गरेको अध्ययनले यस्तो देखाएको हो । नेपाली विद्यार्थी सम्झेर लेख्ने कार्यमा अन्तर्राष्ट्रियस्तरभन्दा राम्रो पाइएको केन्द्रका शाखा अधिकृत श्याम आचार्यले जानकारी दिए । आचार्यका अनुसार व्यावहारिक ज्ञानमा भने नेपाली कमजोर छन् । समस्या समाधान, कारण खोजी, उच्च दक्षता प्रदर्शन, चित्र निर्माण, चित्रको वर्णनलगायत सिर्जनात्मक प्रस्तुतिमा पनि कमजोर छन् ।
केन्द्रले कक्षा ८ मा अध्ययनरत विद्यार्थीमा नेपाली भाषा, गणित र सामाजिक विषयमा अन्तराष्ट्रिय स्तरको स्तरीकृत परीक्षण गरेको थियो । विद्यार्थीको अपेक्षाअनुसार क्षमता विकास भएको छ कि छैन भनेर अध्ययन गरिएको केन्द्रले जनाएको छ । उक्त अध्ययनअनुसार विद्यार्थीको शैक्षिक गुणस्तर गणित र सामाजिकमा अन्तर्राष्ट्रिय स्तरकै र नेपाली भाषामा भने कमजोर छ । अध्ययनबाट औसतमा विद्यार्थीले नेपालीमा ४९, गणितमा ४३ र सामाजिकमा ४९ अंक प्राप्त गरे पनि विद्यार्थीहरू गणित र सामाजिक दुई विषयमा अन्तर्राष्ट्रिय स्तरमा कमजोर नभएको आचार्यले बताए । ‘विद्यार्थीहरू गणित र सामाजिक दुई विषयमा नेपाली विद्यार्थी अन्तर्राष्ट्रिय स्तरकै देखिएका छन्,’ उनले सौर्यसँग भने, ‘भाषा र विचार अभिव्यक्त गर्ने कुरामा मात्र कमजोर देखिएका हुन् ।’
केन्द्रले अन्तर्राष्ट्रिय अध्ययन मापन गर्ने टेम्स र पिसाको प्रश्नपत्रमा आधारित रहेर विद्यार्थीमाझ अध्ययन गरेको थियो । टेम्स र पिसाले अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक गुणस्तर मापन गदै आएका छन् । केन्द्रले इलामदेखि बझाङसम्मका २५ जिल्लाका १ हजार २ सय १ विद्यालयका ४८ हजार ६ सय ८२ सय विद्यार्थीमाझ अध्ययन गरेको थियो । सरकारी र निजी विद्यालयमा गरिएको अध्ययनले सरकारीभन्दा निजी विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएको देखाएको छ ।

प्रतिक्रिया