बन्दुकको नालमा वार्ता नगर्ने इरानको स्पष्टोक्ति

tतेहरान : इरानको पारमाणविक कार्यक्रमसम्बन्धी वार्ताका लागि अमेरिकाले राखेको द्विपक्षीय वार्ताको प्रस्ताव इरानले अस्वीकार गरेको छ । इरानसामु चुनौती सिर्जना गर्ने काम अमेरिकाले नछाडेको भन्दै इरानले अमेरिकाले तेस्र्याएको बन्दुकको नालसामु वार्ता हुन नसक्ने प्रस्ट पारेको छ ।
इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामिनीले इरानी वायुसेनालाई बिहीबार सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । ‘म कूटनीतिज्ञ होइन, क्रान्तिकारी हुँ र यसो भन्न मैले संकोच मान्नु आवश्यक छैन । तिमीहरू (अमेरिकी)ले इरानको कन्चटमा बन्दुक ताकेर ‘वार्ता गर्छौ कि भुटिदिउँm’ भनिरहेका छौ । कोही–कोही वार्ताको प्रस्तावले मख्ख परेका होलान् तर यस्ता वार्ताले कुनै समाधान निकाल्न सक्दैन,’ नेता खामिनीले भने ।
इरानलाई पारमाणविक कार्यक्रम बन्द गर्न बाध्य पार्ने उद्देश्यले अमेरिकाले इरानविरुद्ध विभिन्न खाले नाकाबन्दी लगाएको उल्लेख गर्दै नेता खामिनीले दबाब र चुनौती दिनेसँग इरानले वार्ता नगर्ने प्रस्ट पारे । स्मरण रहोस्, इरानको सैन्य तथा विदश नीतिमा नेता खामिनीको प्रभाव ज्यादै ठूलो छ । यी दुई मामिलामा इरानी राष्ट्रपति महमुद अहमदिनेजादभन्दा खामीनीलाई प्रभावशाली मानिन्छ ।
फेब्रुअरी २६ मा इरानको पारमाणविक कार्यक्रमबारे इरानसहित ६ शक्तिराष्ट्रबीच वार्ता हुने तयारी भइरहेका बेला नेता खामिनीको भनाई बाहिर आएको हो । अमेरिका, चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीसमेत सहाभागी रहने यस्तै बैठक गत वर्ष रुसको राजधानी मस्कोमा सम्पन्न भएको थियो ।
अर्थपूर्ण वार्ताका लागि अर्को पक्षले सद्भाव प्रदर्शन गर्नुपर्ने जिकिर गर्दै नेता खामिनीले इरानविरुद्धको नाकाबन्दीले सद्भाव नभई वैरभाव झल्काएको उल्लेख गरे । (एजेन्सी)

प्रतिक्रिया