अमेरिका–दक्षिण कोरिया नौसैनिक अभ्यास सुरु

US-South-Koreaसोल : अमेरिका र दक्षिण कोरियाले संयुक्त नौसैनिक अभ्यास सोमबार आरम्भ गरेका छन् । दक्षिण कोरियासँग वैरभाव राख्ने उत्तर कोरियाले पारमाणविक हतियार परीक्षण गर्ने चेतावनी दिए पनि कोरियाली प्रायद्वीपमा तनाव बढिरहका बेला नौसैनिक अभ्यास आरम्भ भएको हो ।
दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार ‘सी अफ जापान’मा आरम्भ भएको नौसैनिक अभ्यास तीन दिनसम्म चल्नेछ । उत्तर कोरियाले भने युद्ध भड्काउन नियोजित रूपमा नौसैनिक अभ्यास गरिएको आरोप लगाएको छ ।
उत्तर कोरियाले तेस्रो पारमाणविक परीक्षण गर्ने चेतावनी दिनुअघि नै नौसैनिक अभ्याससम्बन्धी योजना तयार गरिएको दक्षिण कोरियाले जनाएको छ । अभ्यासमा परमाणुसम्पन्न अमेरिकी पनडुब्बीसमेत प्रयोग गरिनेछ । यसबाहेक ‘टमह्वाक क्रुज’ क्षेप्यास्त्र, युएसएस सान फ्रान्सिस्को तथा नौ हजार आठ सय टनको एजिज डिस्ट्रोयर युएसएस सिलोहलगायत हतियारसमेत अभ्यासमा प्रयोग गरिनेछ । अभ्यासमा समुद्री युद्ध सञ्चालन, पनडुब्बी खोजी, हवाई तथा पानी जहाजमाथिको आक्रमण तथा क्षेप्यास्त्रविरुद्ध आक्रमणको विधि र तौरतरिका अपनाइने योनहाप समाचार संस्थाले उल्लेख गरेको छ ।
उत्तर कोरियाले डिसेम्बर महिनामा लामो दूरीको रकेट परीक्षण गरेपछि राष्ट्रसंघले प्योङयाङमाथि प्रतिबन्ध लगाएको थियो । राष्ट्रसंघीय प्रतिबन्धपछि उत्तर कोरियालले नयाँ चरणको पारमाणविक परीक्षण गर्ने चेतावनी दिएको थियो । फेबु्रअरी १० अगावै उत्तर कोरियाले पारमाणविक परीक्षण गर्ने अनुमान गरिएको छ । उत्तर कोरियाली पूर्वनेता किम जोङ इलको जन्मदिनमा हतियार परीक्षण हुनसक्ने आशंका गरिएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति ली म्युङ वाकले आइतबार उच्च सुरक्षा सल्लाहकारसँगको भेटपछि अधिकारीहरूलाई सजगता अपनाउन निर्देशन दिएका थिए । दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तर कोरियाले पारमाणविक परीक्षणको सबै प्राविधिक तयारी पूरा गरेको दाबी गरेको छ ।
रकेट परीक्षणप्रति आपत्ति जनाउँदै राष्ट्रसंघले प्रतिबन्ध लगाएपछि रुष्ट बनेको उत्तर कोरियाले पुन: परमाणु हतियार परीक्षण गर्ने चेतावनी दिँदै अमेरिकासम्म मार हान्नसन्ने क्षमता विस्तारमा लागिपरेको स्वीकार गरेको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले नेतृत्व गरेको मुलुकको मुख्य शासकीय मण्डल राष्ट्रिय प्रतिरक्षा परिषद्ले शान्तिपूर्ण प्रयोजनका लागि गरिएका रकेट परीक्षणप्रति आपत्ति जनाउनुको कुनै तुक नरहेको जनाएको थियो । उत्तर कोरियाविरुद्ध राष्ट्रसंघको कारबाही अमेरिका प्रायोजित रहेको दाबी गर्दै उसले अमेरिकाको प्रतिरोध गर्न परमाणु हतियार परीक्षणको नयाँ चरण आरम्भ गर्ने चेतावनी दिएको छ । ‘हामी एकपछि अर्को गर्दै विविध किसिमका भू–उपग्रह र लामो दूरीसम्म प्रक्षेपित हुने रकेट परीक्षण गर्नेछौँ र यो कुरा हामीले कसैसँग लुकाउनु छैन । साथै, उच्चस्तरका परमाणु परीक्षण पनि हुनेछन् र त्यो अमेरिकाविरोधी संघर्षको नयाँ चरण हुनेछ,’ परिषद्ले जनाएको थियो । अमेरिकासँगको हिसाबकिताब बोलीले नभई बलले चुक्ता गर्ने चेतावनीसमेत उसले दिएको थियो । उत्तर कोरियाको चेतावनीले कोरियाली प्रायद्वीपमा सैन्य सक्रियता बढाउने आशंका बढिरहेका बेला अमेरिका र दक्षिण कोरियाले संयुक्त नौसैनिक अभ्यास सुरु गरेका हुन् । (एजेन्सी)

प्रतिक्रिया