थ्री–स्टार आहा गोल्डकप फाइनलमा

ahaपोखरा, १८ माघ । राजधानी उपत्यकाको थ्री–स्टार क्लब पोखरामा जारी ११औँ आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालमा भएको सेमिफाइनलमा राजधानीकै अर्को क्लब जावलाखेल युथलाई २–१ गोलले पराजित गर्दै थ्री–स्टार फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा एक शून्यले पछि परेको थ्री–स्टारले दोस्रो हाफमा आफ्नो खेलमा सुधार गर्दै नतिजा उल्टायो र अन्तत: २–१ गोलको नतिजा निकाल्यो । खेलको २०औँ मिनेटमा कन्या गुरुङले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा थ्री–स्टार पूरै समय जावलाखेलमाथि हाबी भयो र ६२औँ मिनेटमा अनिल गुरुङले गोल गर्दै खेल एक–एकको बराबरीमा ल्याइपुर्‍याए ।
त्यसपछि इन्जुरी समयमा गुरुङले उपलब्ध गराएको बललाई विदेशी खेलाडी फेमीले पोस्टको दिशा दिन सफल भएपछि उनको त्यो गोल नै थ्री–स्टारलाई फाइनलमा पुर्‍याउन निर्णायक बन्यो । यसअघि राजधानीमा भएको ‘ए’ डिभिजन लिग फुटबलमा थ्री–स्टारले जावलाखेललाई ४–१ गोल अन्तरले हराएको थियो ।
अब उपाधिका लागि थ्री–स्टारले बिहीबार हुने नेपाल आर्मी र आयोजक सहारा क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको उपाधि विजेताले ३ लाख ५१ हजार र उपविजेताले २ लाख १ हजार रुपियाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट हुने खेलाडीले टिभिएस मोटरसाइकल पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया