सैन्य क्षेत्रमा चीनको फड्को

Y-20बेइजिङ : स्थानीयस्तरमा निर्मित मालवाहक विमानको सफल परीक्षण गरेर चीनले सैन्य क्षेत्रमा नयाँ फड्को मारेको छ । ट्यांक र फौजलाई कठिन हिमाली क्षेत्रमा उर्तान सक्ने क्षमताको ‘वाई–२०’ नामक विमानको चीनले सफल परीक्षण गरेको हो ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले शनिबार जनाएअनुसार उत्तर–पश्चिम चीनमा विमानको सफल परीक्षण गरिएको हो । वाई–२० विमानबाट तिब्बतजस्ता कठिन हिमाली भूभागमा युद्ध सामग्री तथा फौज उतार्न चीनलाई सहज हुने विश्लेषण गरिएको छ ।
यो परीक्षणसँगै चीन विशाल मालवाहक विमान बनाउने मुलुकको सूचीमा दरिएको छ । अमेरिकानिर्मित ‘सी–१७’ र रुसनिर्मित ‘इल–७६’ मालवाहक विमानले विश्वबजार पिटिरहेका बेला चीननिर्मित ‘वाई–२०’ को सफल परीक्षण भएपछि भारत, फिलिपिन्स, जापान, भियतनामलगायत मुलुकसामु चुनौती तेर्सिएको विश्लेषण गरिएको छ । यसअघि चीनले विमानवाहक पानीजहाज (समुद्री बेडा) निर्माण गरेर फौजी क्षेत्रमा ठूलो फड्को मारेको थियो ।
सैन्य मामिलासम्बन्धी अध्ययन गर्ने पश्चिमी अध्ययन निकायले ‘वाई–२०’ले ६६ टन वजनको सामग्री बोकेर १३ हजार मिटरमाथिसम्म उडान भर्न सक्ने जनाएका छन् । यसमा रुसनिर्मित ‘सोलोभिभ डि–३०केपी–२’ इन्जिन प्रयोग गरिएको उनीहरूले जनाएका छन् । तर, ‘डब्लुएस–२०’लगायत विमानमा प्रयोग गरिएका अधिकांश टर्बोफ्यान इन्जिन भने चीनको स्थानीय उत्पादन भएको समाचारमा जनाइएको छ ।
तिब्बतसँग सीमा जोडिएको सान्सी प्रान्तको यानलियाङ क्षेत्रस्थित विमानस्थलबाट विमानको परीक्षण उडान भरिएको हो । चीनको सियान एयरक्रयाफ्ट इन्डस्ट्रीले वाई–२० निर्माण गरेको हो । (एजेन्सी)

प्रतिक्रिया