नयाँदिल्ली : भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता यशवन्त सिन्हाले गुजरातका मुख्यमन्त्रीसमेत रहेका पार्टी नेता नरेन्द्र मोदीलाई आगामी लोकसभा निर्वाचनमा प्रधानमन्त्रीको दाबेदार बनाउन पार्टीसमक्ष प्रस्ताव गरेका छन् । पूर्वविदेशमन्त्रीसमेत रहेका नेता सिन्हाले सोमबार यस्तो प्रस्ताव गरेका हुन् ।
जनता र पार्टी कार्यकर्ता सबैले मोदीलाई प्रधानमन्त्रीका रूपमा चाहेको नेता सिन्हाले जिकिर गरे । ‘सबैतिर मैले नरेन्द्र मोदीका पक्षमा जनमत रहेको पाएको छु । सर्वसाधारण र पार्टी कार्यकर्ताले मोदी प्रधानमन्त्री बनेको रूपमा हेर्न चाहेका छन्,’ उनले भने । यी सबै कुरा विचार गर्दा आफूलाई पनि मोदी प्रधानमन्त्री भइदिएहुन्थ्यो जस्तो लागेको उनले बताए । ‘यदि मोदीलाई प्रधानमन्त्री बनाउने हो भने यसले पार्टीपंक्तिमा ठूलो प्रभाव पार्ने निश्चित छ,’ सिन्हाले भने ।
यसअघि भाजपाका वरिष्ठ नेता राम जेठमलानीले पनि यस्तै प्रस्ताव गरेका थिए । भारतका प्रतिष्ठित कानुन व्यवसायीसमेत रहेका जेठमलानीले भाजपाका तत्कालीन प्रमुख नितिन गडकरीलाई चिठी लेखेर आºनो प्रस्तावबारे पार्टीभित्र छलफल चलाउन आग्रह गरेका थिए । ‘मैले मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्नेबारे भाजपाका थुप्रै नेतासँग भेटेर कुराकानी गरेको छु । मोदीको उम्मेदवारीमा पार्टीभित्र सहमति जुट्छ भन्नेमा म विश्वस्त छु,’ जेठमलानीले भनेका थिए ।
भाजपाका वरिष्ठ नेताहरूले मोदीका पक्षमा भनाइ राख्न थालेको भए पनि आगामी आमनिर्वाचनमा कसलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भन्ने विषयमा पार्टीले अझै मुख खोलेको छैन ।
गुजरातमा भएको पछिल्लो राज्यसभा निर्वाचनमा मोदी तेस्रोपटक मुख्यमन्त्री पदमा निर्वाचित भएपछि उनी प्रधानमन्त्रीको उम्मेदवार बन्ने चर्चा पुन: सतहमा आएको हो । सन् २००१ यता मोदीले गुजरातको मुख्यमन्त्री पद सम्हाल्दै आएका छन् । अधिकारकर्मी र मुसलमान समुदायका मानिसबीच मोदी अलोकप्रिय छन् । मुस्लिमविरोधी हिन्दू भावना भड्काएर मोदीले राजनीति गरेको भन्दै उनको आलोचना हुने गरेको छ । तर, उनकै नेतृत्वमा गुजरातले आर्थिक क्षेत्रमा ठूलो फड्को मारेको छ । राज्यसभा निर्वाचनमा मोदीको विजयीपछि भारतीय सञ्चारमाध्यममा आगामी प्रधानमन्त्रीको दाबेदार बन्ने चर्चा चल्न थाले पनि मोदीले आफूलाई कहिल्यै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेका छैनन् । (एजेन्सी)
प्रतिक्रिया